केकीले गरिन् गगन थापालाई भोटको अपिल

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, १५ : १२
केकीले गरिन् गगन थापालाई भोटको अपिल

काठमाडौं । अभिनेत्री केकी अधिकारीले काठमाडौं ४ का नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई भोटको अपिल गरेकी छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेत्री अधिकारीले भोटको अपिल गरेको भिडियो सन्देश नेता थापाले सार्वजनिक गर्नुभएको छ । उक्त भिडियोमा अधिकारीले सानो र छोटो भेटमा नेता थापाले आफूप्रति बहिनी मानेर दर्शाएको मायाको लागि कृतज्ञता व्यक्त गरेकी छन् ।

नेता थापालाई सफल राजनीतिज्ञको रुपमा उदय होस् भन्ने अपेक्षा व्यक्त गरेकी अभिनेत्री अधिकारीले असल जनप्रतिनिधिको रुपमा आफ्नो यात्रा अघि बढाउन अपील गरेकी छन् ।

अधिकारीले यसो भन्दै गर्दा कोरोना कालमा नेता थापाले एक असल जनप्रतिनीधिको रुपमा देखाउनु भएको साहास, सघर्ष, भूमिका र तदारुप्ता सबैका लागि प्रेरणाको स्रोत भएको दावी गरेकी छन् । नेता थापाको राष्ट्रप्रतिको निष्ठा, जनताप्रतिको सेवाभाव र इमान्दारिता, संसदप्रतिको लगाव प्रशंसनीय रहेको उनको भनाइ छ ।

नेपाली कला, साहित्य, संगीत र चलचित्रप्रति नेता थापाको अभिरुचि आफूले पाएको र संसदमा उहाँले राष्ट्रिय चासोका विषयमा खबरदारी गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको अधिकारीले भिडियो सन्देश मार्फत बताएकी छन् ।

अधिकारीले नेता थापालाई विजयको अग्रिम शुभकामना समेत दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस