राजनीतिमा धनको हावी भए युवाको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी

सफल खबर संवाददाता

मंगलबार, २९ कार्तिक २०७९, ११ : ५६
राजनीतिमा धनको हावी भए युवाको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी

काठमाडौं । पूर्वमन्त्री एवं जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृति हावी हुने बताएका छन ।मंगलबार नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बर्दघाट नगरपालिकाको वडाहरुमा भएको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताए। उनले राजनीतिमा धनको हावी भएमा युवाहरुको राजनीतिक भविष्य समेत समाप्त हुने जिकिर गरे। उनले आफू जीवनको अन्तिम पटक चुनाव लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा मागेको बताए । अध्यक्ष त्रिपाठीले आफूले मागेको भिक्षा चुनावी क्षेत्रका जनताको प्रतिष्ठा, इज्जत, स्वाभिमान र सम्मानका लागि भएको बताए।

त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं.१ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार पुण्यप्रसाद पौडेलले पनि उद्योगपति चौधरीलाई लक्षित गर्दै धनको बलमा मतदाता बिक्री नहुने बताए । चौधरीले चुनाव जित्नकै लागि सिजी नेटदेखि लिएर फाउण्डेसनको नाममा अनुदान समेत दिँदै हिडेको आरोप लगाउँदै उनले आचारसंहिता उल्लंघन भएको बताए। प्रदेश सभा सदस्य उम्मेदवार पौडेलले उद्योगपति चौधरी जस्ता धनाढ्यको जितले भविष्यमा देशका राजनीतिकर्मीहरु पलायन हुनुपर्ने स्थिति आउने दावी गरे। उनले जनताहरुले चौधरीलाई पाहुनाको रुपमा मात्र चिनेको भन्दै चुनाव नजित्ने दावी समेत गरे ।

त्यस्तै नेकपा एमालेकी नेतृ एवं पूर्व संविधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकीले जप्रपा, एमाले र जसपाको संयुक्त गठबन्धन मजबुत रहेको भन्दै आफूहरुले चुनाव जित्ने दावी गरे । निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका नेताहरुले घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस