गोरखामा बढ्यो चुनावी सरगर्मी, भारी मतले प्रचण्डको जित हुने अनुमान

सफल खबर संवाददाता

सोमबार, २८ कार्तिक २०७९, १३ : ०१
गोरखामा बढ्यो चुनावी सरगर्मी, भारी मतले प्रचण्डको जित हुने अनुमान

गोरखा । गोरखामा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी निकै बढेको छ । बजारका चोक, गल्ली, गाउँघरका चौतारा, चिया पसलमा जताजतै चुनावकै विषयमा चर्चा परिचर्चा हुने गरेको छ ।

मानिसहरूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा आउनुको कारणबारे जिज्ञासा राखिरहेका छन् । २२ वर्षको कलकलाउँदो उमेरमा गोरखा आएर शिक्षण गरेका र निल परेको विद्यालयलाइ प्रथम श्रेणी सहितको उत्कृष्ट विद्यालय निर्माण गरेका प्रचण्डले गोरखामा नै बसेर राजनैतिक यात्रा तय गरेका थिए ।
प्रचण्डले पञ्चायतविरोधी आन्दोलन गोरखा बसेर नै गरे । जनक्रान्ति र गणतन्त्रको सुरुवात गोरखामा नै हेडक्वाटर खडा गरेको उनले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।प्रचण्ड सधैँ राजनीतिमा सक्रिय रहँदै नेपालमा फरक फरक नीति तथा सिद्धान्तको प्रयोग समेत गर्दै आएका छन् । उनले यसपटक गोरखाबाट आर्थिक समृद्धिको यात्रा तय गर्ने बताएका छन् । हालसम्म गोरखाका १०४ वटा सभामा सम्बोधन गरिसकेका प्रचण्डले पटक-पटक एउटै कुरा दोहोर्‍याएका छन् । कानुनी हिसाबले उनी गोरखा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनले आफूलाई एउटा निर्वाचन क्षेत्रका भन्दा पनि गोरखाको उम्मेदवार भनिरहेका छन् ।नेपाललाई लगानीको गन्तव्य बनाउने र सबैलाई यहीँ भविष्य निर्माणको वातावरण बनाउन प्रचण्ड लागिपरेको देखिन्छ । स्पष्ट स्वभावका प्रचण्डमा कुनै जालझेल, षड्यन्त्र र अस्प्षटता देखिँदैन ।

बिहान ६ बजेदेखि राति १० बजेसम्म उनी जनताहरूसँगको भेटघाट, सभा, सम्मेलन, विकास निर्माणका छलफलमा सहभागी छन् । उनले गोरखामा विद्यार्थी, युवाहरू, शिक्षक, विभिन्न जनवर्गीय र जातीय संघ, संगठनहरू, व्यवसायी, उद्योग वाणिज्य संघका व्यवसायी, शहीद बेपत्ता परिवार सबैसँग भेटघाट गरेका छन् । जान नभ्याएका कतिपय स्थानमा निर्वाचनपछि आउने वचन दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसँगै गोरखामा विकास भित्रिने गोरखाली नागरिकहरूमा अपेक्षा छ । समाजवादको यात्रामा रहेका प्रचण्ड यसअघि रोल्पा, काठमाडौं, सिराहा, चितवनबाट निर्वाचन लडेका थिए । जतिवटा निर्वाचन भयो उनले त्यति नै पटक फरक स्थानबाट चुनावमा भाग लिँदै र विजयी हुँदै आएका छन् । देश निर्माणको सपना बोकेर अगाडि बढेका प्रचण्ड विकासमा नेपालको मौलिक मोडल तय गर्न विभिन्न भूगोलमा जाने गरेका उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

प्रचण्डलाइ रेकर्ड राख्ने गरी मत दिएर विजयी गराउने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवँ गोरखा क्षेत्र नम्बर दुइ ९ख०  का उम्मदवार सुरेन्द्रराज पाण्डे बताउँछन् ।
प्रचण्डले सार्वजनिक कार्यक्रममा र अघिपछि पनि भनेका छन्, राणा शासन, पञ्चायती व्यवस्था हटाउन र देशमा गणतन्त्र ल्याउन कांग्रेस र कम्युनिष्टहरूको एकताले नै काम गरेको छ । यसपटक आर्थिक समृद्धिको यात्रालाई अघि बढाउन यो गठबन्धन पूर्ण सफल हुने उनले प्रष्ट गरेका छन् । यो निर्वाचनले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, नेसपा, राष्ट्रिय जनमोर्चाको गठबन्धनले बहुमत ल्याउने उनले बताएका छन् ।

प्रचण्ड एकदुई जनाको लागि भन्दा पनि देशका सबै नागरिकहरू र समग्र देशको अवस्था परिवर्तनका लागि अहोरात्र खटेका छन् । उनले २०३३ साल देखि देशको परिवर्तनको लागि गोरखालाई केन्द्र बनाएर काम गर्दै आएका छन् । देश र जनताको परिवर्तन र मुक्तिका लागि निरन्तर संघर्ष गर्ने प्रचण्ड देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउन लागि परेका छन् ।

गोरखामा अन्य पार्टीहरू राप्रपा, राप्रपा नेपाल, नेकपा एमालेलगायतका केही स्वतन्त्र नागरिकहरू पनि गाउँ गाउँमा मत माग्दै कार्यक्रम गरिरहेका छन् । उनीहरूले अधिकांश समय परिवर्तनका विरुद्धमा, शान्तिका विरुद्धमा प्रचार गरिरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस