रोल्पामा निर्वाचनको अन्तिम तयारी

रासस

आइतबार, २७ कार्तिक २०७९, १५ : २७
रोल्पामा निर्वाचनको अन्तिम तयारी

रोल्पा । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभानिर्वाचनका रोल्पाबाट विभिन्न दल र स्वतन्त्रगरी १४ जना प्रतिस्पर्धामा उत्रिएका छन् । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा पाँचजना र दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा नौ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

जिल्लामा नेपाल मजदूर किसान पार्टी, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल र राप्रपाले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएका मध्ये प्रमुख दल वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका वर्षमान पुन, नेकपा  एमालेबाट पूर्ण बुढामगर, राप्रपा नेपालका रामबहादुर वली क्षेत्री, राप्रपाबाट लीला रावत नेपाल र नेपाल मजदूर किसान पार्टीबाट नातीभाइ ह्योम्बा चुनावी प्रतिपर्धामा रहेका छन् । 

यस्तै प्रदेशसभा तर्फ १ मा नेकपा एमालेका कमल बुढाथोकी, राप्रपा नेपालका गजबहादुर शाही, नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा र राप्रपाका पदमबहादुर थापा  प्रतिस्पर्धामा रहेका छन् । प्रदेशसभा २ मा नेपाली कांग्रेसका अमरसिंह पुन, राप्रपाका केशरबहादुर पुन, स्वतन्त्रबाट दीपेन्द्रकुमार पुन मगर, नेकपा एमालेका प्रेमबहादुर घर्तीमगर र राप्रपाका सेते दमाइँ प्रतिस्पर्धामा रहेका छन् । बाटो, पुल, सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी जस्ता विषयवस्तुलाई नै यहाँका उम्मेदवारले चुनावी एजेण्डा बनाएका छन् । वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेले निर्वाचन प्रतिबद्धता पत्र नै जारी गरेका छन् भने अन्य दलले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छैनन् । 

स्थानीय मतदाताको अपेक्षा बाह्रैमहिना चल्ने सडक, निःशुल्क र गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा स्वदेशमै रोजगारी जस्ता विषय पनि उम्मेदवारले प्रतिबद्धता पत्रमा समेटेका छन् । “दलहरुले घोषणा पत्र जारी गर्दा आकाशको तारा खसाल्ने गरी ल्याउँछन् कार्यान्वयन भने निकै फितलो हुँदा घोषणा पत्रप्रति जनताको रुचि छैन”, महिला अगुवा तीर्था आचार्यले भनिन्, “महिला हिंसा, बालविवाह, आत्महत्याको अवस्था पनि भयावह भएपनि दलहरुको घोषणा पत्र सडक पुलपुलेसामा सीमित छन् ।”  निर्वाचनका लागि रोल्पामा ८६ मतदानस्थलको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला सुरक्षा समितिले  मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यगरी तीन भागमा बाँडेर सुरक्षाबन्दोबस्ती गरेको वताएको छ । 

जिल्ला सुरक्षा समितिका अनुसार ३१ मतदानस्थललाई अति संवेदनशील मतदानस्थलको रुपमा राखेको छ । जिल्लाका अति संवेदनशील मतदानस्थलमा थवाङ गाउँपालिकामा ३, रोल्पा नगरपालिकामा २, त्रिवेणी गाउँपालिकामा १, रुन्टीगढी गाउँपालिकामा ६, परिवर्तन गाउँपालिकामा २, गङ्गादेव गाउँपालिकामा ६, माडी गाउँपालिकामा १, सुनछहरी गाउँपालिका ५ र लुङ्ग्री गाउँपालिकामा पाँच रहेका छन् । 
यस्तै जिल्लाका ४२ मतदानस्थल संवेदनशील र १३ मतदानस्थल सामान्य रहेको जिल्ला सुरक्षा स्रोतले जानकारी दिएको छ । गत स्थानीय तह निर्वाचनमा ८१ मतदानस्थल रहेकोमा जनसङ्ख्या, भौगोलिक अवस्था, यातायात र सुरक्षा अवस्था हेरेर जिल्ला सुरक्षा समितिको सिफारिसमा पाँच वटा मतदान केन्द्र थपिएको हो । 

जिल्लामा स्थायी एक सय ७५ र अस्थायी दुईसहित एक सय ७७ वटा मतदान केन्द्र कायम गरिएको छ । अस्थायी मतदान केन्द्रको रुपमा सदरमुकाम लिवाङको कारागार कार्यालय र जिल्ला समन्वय समिति प्राङ्गणमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । अस्थायी मतदान केन्द्रका कारागारका कैदी, सेना प्रहरी तथा वृद्धाश्रमका रहेका व्यक्तिले समानुपातिकमा मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय रोल्पाका निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जानकारी दिए । मतदानस्थलवाट मुख्य  निर्वाचन अधिकृतको कार्यालय लिवाङसम्म मतपेटिका सुरक्षित रुपले ल्याउने गरी सुरक्षा योजनासमेत बनिसकेको सुरक्षा स्रोतले जनाएको छ । प्रदेशसभा १ मा ६८ हजार एक सय ६४ र प्रदेशसभा २ मा ७७ हजार तीन सय सातसहित रोल्पामा एक लाख ४५ हजार चार सय ७१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लामा निर्वाचन आचारसंहिताको बारेमा आफूहरुले सुक्ष्म ढङ्गले अनुगमन गरिरहेको निर्वाचन आचारसंहिता अधिकृत रमेश घिमिरेले वताए । “अहिले सम्म आचारसंहिता उलंघनका घटना खासै भएका छैनन”, घिमिरेले भने । जिल्लामा हरेक स्थानीयतहमा मतदाता शिक्षा सम्पर्क व्यक्ति नियुक्ती गरि तालिम पश्चात संवन्धित स्थानीय तहहरुमा पठाएको छ । उनीहरुले जिल्लाका ७२ वटै वडाका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई मतदाता शिक्षाका लागि तालिमपश्चात परिचालन गरिएको निर्वाचन अधिकारी डाँगीले बताए ।

मतदाता शिक्षामा खट्ने महिला स्वास्थ्य स्वयमसेविकाको खर्च व्यवस्थापन सम्बन्धित पालिकाले गर्ने डाँगीले जानकारी दिए । स्थानीयतहहरुमा नमूना मतदानको काम समेत भइरहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ । विस २०७९ साल वैशाख ३० को स्थानीयतह निर्वाचनमा नेकपा माओवादी केन्द्रले १० मध्ये सात स्थानीयतहको अध्यक्ष उपाध्यक्ष जितेको थियो । उक्त निर्वाचनमा नेपाली कांग्रेसले दुई अध्यक्ष र तीन उपाध्यक्ष जित्दा नेकपा एमालेले १ अध्यक्ष जितेको थियो । जिल्लामा ७२ वडामध्ये नेकपा माओवादी केन्द्रले ४८, नेपाली कांग्रेसले १४, नेकपा एमालेले ८, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले एक÷एक वडाध्यक्ष जितेका थिए । स्थानीयतहको निर्वाचनमा वडाको मतको आधारमा नेकपा माओवादी केन्द्रले ४०७९१ मत प्राप्त गर्दा नेपाली कांग्रेसले २४६६४, नेकपा एमाले १५३०१, राप्रपा १२१८ र नेकपा एकीकृत समाजवादीले ९५० मत प्राप्त गरेका थिए । 

विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट वामगठबन्धनको साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका वर्षमान पुनले ४२०८४ मत प्राप्तगरी विजयी भएका थिए । सो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले २०३३७ मत प्राप्त गरेका थिए । समानुपातिक तर्फ अघिल्लो संसदिय निर्वाचनमा नेकपा माओवादी केन्द्रले २७२२० मत, नेपाली कांग्रेसले १५८४७ मत र नेकपा एमालेले १०५४५ मत प्राप्त गरेको थियो

 

 

प्रतिक्रिया दिनुहोस