इंग्ल्याण्ड टी–२० विश्वकपको फाइनलमा, भारतको लज्जास्पद हार

सफल खबर संवाददाता

विहीबार, २४ कार्तिक २०७९, १७ : ०१
इंग्ल्याण्ड टी–२० विश्वकपको फाइनलमा, भारतको लज्जास्पद हार

काठमाडौं । ओपनर एलेक्स हेल्स र कप्तान तथा ओपनर जोस बटलरको उत्कृष्ट प्रदर्शनमा इंग्ल्याण्ड आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको हो । 

एडिलेड ओभलमा भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा विना विकेट पुरा गर्यो । इंग्ल्याण्डको जितमा दुवै ओपनरले आक्रामक ब्याटिङ गरे । हेल्सले ४७ बलमा ४ चौका र ७ छक्काको मद्धतमा ८६ रनको योगदान गरे । बटलरले ४९ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ८० रनको उत्कृष्ट अर्धशतकिय पारी खेले । 

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए । 

विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी गरेका थिए ।कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आदिल राशिद र क्रिस वोक्सले एक एक विकेट लिए । अब इंग्ल्याण्डले आइतबार फाइनलमा पाकिस्तानसँग प्रतिस्धर्पा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस