काठमाडौंमा राप्रपाको चुनावी सभा, लिङ्देनले सम्बोधन गर्ने

रासस

बुधबार, २३ कार्तिक २०७९, ०९ : ४३
काठमाडौंमा राप्रपाको चुनावी सभा, लिङ्देनले सम्बोधन गर्ने

काठमाडौं । निर्वाचनको मिति नजिकिदै गर्दा राप्रपाले वसन्तपुरमा उपत्यका स्तरीय चुनावी सभा गर्ने भएको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उमेदवारहरुले मतदानका लागि सामुहिक अपिल गर्ने कार्यक्रम समेत रहेको छ । देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उमेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो ।

राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ। राप्रपाले कार्तिक २४ गते एकदिन मै ६ वटा सभाको आयोजना गरेको छ । अध्यक्ष लिङ्देन र पूर्व अध्यक्ष पशुपतिशमशेर जबराले सिन्धुपाल्चोक, सिन्धुली, सिराहा, मकवानपुर, उदयपुर र सुनसरीको धरानमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

यथास्थितिमा परिवर्तनको नारा दिएर राप्रपाले मतलाई मनसंग जोड्न मतदातासंग मत मागिरहेको छ । अध्यक्ष लिङ्देन झापा क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्य पदका उमेदवार छन् । अध्यक्षको झापाको चुनावी अभियानलाई दृष्टिगत गर्दै अन्य जिल्लामा चुनावी सभा तय गरिएको र कार्तिक २९ गतेसम्म चुनावी सभा गरिने राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस