आचारसंहिता उल्लंघन भइरहे आयोग चुप लागेर बस्दैन : आयुक्त जबरा

सफल खबर संवाददाता

आइतबार, २० कार्तिक २०७९, ११ : १३
आचारसंहिता उल्लंघन भइरहे आयोग चुप लागेर बस्दैन : आयुक्त जबरा

काठमाडौं । निर्वाचन आयोगका आयुक्त सगुनशमशेर जबराले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उमेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाको हातोमालो आवश्यक रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले आयोगको एक्लो प्रयासबाट मात्र निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न हुन नसक्ने बताए । सबै पक्षको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे ।

 “निर्वाचन आयोगले मात्र भयरहित वातारणमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सक्दैन,” आयुक्त जबराले भने, “यसमा राजनीतिक दल, उमेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातोमालो जरुरी छ ।”

उनले निर्वाचन आचारसंहिता पालना गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए । “निर्वाचन आयोग कसैलाई पनि कारबाही गर्न इच्छुक छैन,” उनले भने, “तर, निर्वाचन आचारसंहिता उल्लंघन भइरहे आयोग चुप लागेर बस्दैन । अब स्पष्टीकरण मात्र सोधिने होइन, जरिवाना पनि गर्न सुर गरिसकेका छौँ ।”

उनले निर्वाचन क्षेत्रमा मतदाता, मतदान केन्द्र र भूगोललाई आधार बनाएर उमेदवारहरूको खर्च सीमा तोकिएको स्पष्ट पारे । निर्वाचनमा प्रतिस्पर्धा गर्ने, खर्च गर्ने तर आयोगमा त्यसको विवरण नबुझाउनेहरूमाथि कारबाही गरेको उनको भनाइ छ ।

आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले तोकिएको सीमामै रहेर उमेदवारहरूले खर्च गर्नुपर्ने बताए । आचारसंहिताविपरीतको कार्य भएको उजुरी आएमा तत्काल अनुसन्धान गरी कारबाही गर्ने उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस