लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, २० : ०२
लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो : प्रधानमन्त्री देउवा

डडेल्धुरा। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको बताएका छन् । गृहपालिका गन्यापधुरा–२ वडालमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांगे्रससहितको गठबन्धन बहुमतका साथ विजयी हुने दाबी गरे ।

सबै पक्ष, जातजाति र भूगोल तथा अन्यायमा परेका मानिसको पक्षमा रहेका गठबन्धका उम्मेदवारलाई विजयी बनाउन उनले आग्रह गरे । राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भएकाले राजनीति परिस्थितिअनुसार चल्ने उनको भनाइ थियो । 

प्रधानमन्त्री देउवाले न्यायपालिका स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यापालिकामाथिको हस्तक्षेप र आरोप बन्द हुनुपर्ने बताए । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा न्यायालय र संविधाननलाई कमजोर पार्ने चेष्टा गरेको आरोप लगाउँदै प्रधानमन्त्री देउवाले न्याय क्षेत्रलाई स्वतन्त्ररूपमा काम गर्ने वातावरण आफ्नो नेतृत्वको सरकारले कायम गरेको बताए ।

कुनै पनि व्यक्ति वा प्रधानमन्त्रीले संसद् भङ्ग गर्न नपाऊन् भन्ने अभिप्रायले लोकतन्त्रको मर्म र जनताको अभिमतका आधारमा तयार पारिएको नेपालको संविधान मास्ने र च्यात्ने खतरा बढेको तर संसद् र अदालत नै संविधानको रक्षा गर्ने निकाय भएको उनको भनाइ थियो ।

उनले अतिक्रमित नेपालको भूमि कुटनैतिक पहल र आपसी सम्बन्धका आधारमा फिर्ता ल्याउन पहल भइरहेको जानकारी दिए । आफू पनि सुदूरपश्चिमवासी भएकाले लिम्पियाधुरा, लिपुलेक, कालापानी र अन्य भूमिसम्बन्धी विवाद पनि कूटनीतिक पहलका आधारमा समाधान गर्ने उनले स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम र डडेल्धुराको विकासका लागि आफू सधैँ प्रतिबद्ध स्पष्ट गरे । डडेल्धुरामा मेडिकल कलेज निर्माणको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै उनले पश्चिम सेती जलविद्युत् आयोजना, विमानस्थल, ग्रामीण सडकको स्तरोन्नति, सिँचाइ, खानेपानी र विद्यालय निर्माण जस्ता विकासका गतिविधि यस क्षेत्रमा अगाडि बढेको बताए ।

प्रधानमन्त्री देउवाले कात्तिक १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस