वर्षभरी पर्यटक आउने गरी सरकारले योजना बनाउँदैछ: मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, १८ कार्तिक २०७९, २० : ००
वर्षभरी पर्यटक आउने गरी सरकारले योजना बनाउँदैछ: मन्त्री श्रेष्ठ

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन् । 

थाहा नगरपालिकाले शुक्रबारदेखि काठमाडौंको बसन्तपुर डबलीमा आयोजना गरेको थाहा पर्यटकीय फोटो प्रर्दशनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सरकारले पर्यटकलाई आकर्षित गर्ने योजना ल्याउने बताए । 

विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउन पर्यटक भ्रमण दशक कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउने उनको भनाइ छ । मन्त्री श्रेष्ठले कल्चर, नेचर र यहाँ रहेका वैभवका पूर्वाधार विकास गरी नेपालमा १२ महिना पर्यटक आउने गरिको योजना बनाउँदै गरेको मन्त्री श्रेष्ठले बताए । 

पर्यटन क्षेत्रको समावेशी विकास गर्न आफूले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार परेको उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्न सबै जुट्नुपर्ने उनको भनाइ छ । 

आफू पर्यटन मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि ७३ बुँदाको पर्यटन विकासको कार्यक्रम अघि सारेको मन्त्री श्रेष्ठले बताए । दीर्घकालीन रुपमा पर्यटन क्षेत्रको दीगो विकास गर्ने भनेर २०२३ देखि २०३२ सम्मलाई ‘पर्यटक भ्रमण दशक’ भनेर घोषणा गरेको पनि उनले बताए । 

मन्त्री श्रेष्ठले थाहा नगरपालिकाले आयोजना गरेको फोटो प्रर्दशनीले पनि नेपाललाई पर्यटन क्षेत्रको गन्तव्यको रुपमा विकास गराउन सहयोग पुर्‍याउने बताए । 

३ दिनसम्म चल्ने प्रर्दशनीमा थाहा नगरपालिकाको सांस्कृतिक, प्राकृतिक तथा धार्मिक महत्वका सम्पदाहरुको चित्रण गर्ने प्रयास गरिएको थाहा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस