विश्वकप फुटबल

ब्राजिललाई राहत, अर्जेन्टिना र जर्मनी संकटमा

सूर्यप्रकाश कँडेल

शनिबार, ०९ असार २०७५, १६ : ०९
ब्राजिललाई राहत, अर्जेन्टिना र जर्मनी संकटमा

चितवन । विश्वकप फुटबलको समूह चरणका ४८ खेलमध्ये शुक्रबार मध्यरातसम्ममा २६ वटा खेल भइसकेका छन् । अहिलेसम्मको अवस्थामा समूह ए बाट रसिया र उरुग्वे समान ६ अंकका साथ अगाडि छन् । यी दुवै टीम दोस्रो चरणमा जाने पक्कापक्की छ । 
समूह बी मा समान ४ अंक ल्याएका इरान, पोर्चुगल र स्पेनबीच कडा टक्कर छ । समूह सी को फ्रान्सले ६ अंक र डेनमार्कले चार अंक ल्याउँदा अस्ट्रेलिया एक अंकमै सिमित छ । समूह डी का अर्जेन्टिना र आइसल्याण्ड एउटा खेल बराबरी खेलेर अर्को खेल हारी एक अंकमा सिमित भएका छन् । डी बाट क्रोएसियाले ६ अंक र नाइजेरियाले ३ अंक ल्याएका छन् । 
समूह ई बाट ब्राजिल र स्वीजरल्याण्डले समान ४ अंक र सर्बियाले ३ अंक ल्याएका छन् । पहिलो खेल जितेर अग्रस्थानमा रहनेमा समूह एफ बाट मेक्सिको र स्वीडेन, समूह जी बाट बेल्जियम र इंग्ल्याण्ड, समूह एच बाट जापान र सेनेगल छन् । समूह चरणको पहिलो खेलमा मेक्सिकोसँग हारेपछि स्तब्ध भएको जर्मनीले आज शनिबार मध्यरात हुने खेलमा स्वीडेनलाई हराउन सकेमात्र उसको संकट टर्नेछ । आजको खेल हारेमा साविक विजेता जर्मनी दोस्रो चरण प्रवेश नगरिकनै प्रतियोगिताबाट बाहिरिनु पर्ने हुन सक्छ ।

दुई खेलमा एउटा बराबरी र अर्कोमा हार व्यहोरेपछि दक्षिण अमेरिकाको चर्चित टीम अर्जेन्टिना पनि संकटमा छ । अर्जेन्टिनाले नाइजेरियासँग आउँदो मंगलबार राति हुने समूह चरणको अन्तिम खेल जित्नै पर्ने बाध्यता छ । समूह ई बाट पहिलो खेल बराबरी खेलेका ब्राजिल र स्वीजरल्याण्ड दोस्रो खेल जितेर समान ४ अंकका साथ बराबरीमै छन् ।

चार वर्षमा एक पटक आउने फिफा विश्वकप फुटबलको महाकुम्भ मेला अहिले रसियामा चलिरहेको छ । विश्वकप फुटबलको २१ औं संस्करण रसियाले आयोजना गरेको हो । यसपटकको विश्वकप फुटबल प्रतियोगितामा ३२ देश सहभागी छन् । पहिलो समूह चरणका खेलहरु भइरहेका छन् । प्रतियोगितामा समूह चरणका ४८ र लीग चरणका १६ गरी कूल ६४ वटा खेल हुनेछन् । गत जेठ ३१ गतेदेखि शुरु भएको यो प्रतियोगिता असार ३१ गतेसम्म चल्नेछ ।
 

प्रतिक्रिया दिनुहोस