ऐतिहासिक सम्पदाको डिजिटल प्रोफाइल तयार गर्छुः ऊर्जामन्त्री भुसाल

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, १६ : २५
ऐतिहासिक सम्पदाको डिजिटल प्रोफाइल तयार गर्छुः ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरका ऐतिहासिक सम्पदाको डिजिटल प्रोफाइल तयार गर्ने बताएकी छन्। सत्तारुढ गठबन्धनको ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले आगामी दिनमा ललितपुरका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बा संरक्षण तथा प्रवद्र्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार पार्ने बताइन्।

बुधवार ललितपुर क्षेत्र नं. ३ को वाम–लोकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रमा उनले कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिने पनि उल्लेख गरिन्।

रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गरिने उनले बताइन्।मन्त्री भुसालले हस्तकला केन्द्रको स्तरोन्नति गर्ने, पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गर्ने बताइन्। त्यस्तै स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनर्निर्माण, संरक्षण र उपयोग गरिने पनि उनले बताइन्।

मन्त्री भुसालले निर्माणाधीन बागमती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरिन्। उनले विकास निर्माणका निकायबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने बताइन्।

अध्ययन सम्पन्न भएका ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने उनको भनाइ छ।उनले आफ्नो घोषणापत्रमा स्थानीय सरकारको सहकार्यमा प्राकृतिक स्रोतको संरक्षण, उपभोग/स्थानीय स्रोतको सामुदायिकीकरण गरिने, स्वच्छ पर्यावरणका लागि विद्युतीय साधनकोे प्रवद्र्धन गरिने, जनसहभागितामूलक सरसफाइ तथा वृक्षरोपणलाई प्रोत्साहन गरिने र कृषि पर्यटनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिँचाइको व्यवस्था, कृषि उपजको व्यवस्थित संकलन तथा बजारीकरण गरिने कुरा पनि समेटेकी छन्।

उनले हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। त्यस्तै, महिला हिंसाको उन्मूलन र हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका हुने विषय पनि समेटेकी छन्।

मन्त्री भुसालले ललितपुरमा रहेका विकास साझेदार संस्थासँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गर्ने, क्लब र समूहलाई सवल तुल्याई परिचालन गर्ने पनि बताइन्।

त्यसैगरी, शैक्षिक तथा उद्यम ऋणको कार्यान्वयनमा सहजीकरण गर्ने, ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि स्वास्थ्यमा विशेष पहुँचको सुनिश्चितता गर्ने तथा ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचना निर्माण तथा प्रवद्र्धन गर्ने उनले उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस