काठमाडौँ । पूर्वगृहमन्त्री वामदेव गौतमका व्यापारिक साझेदार सुन व्यवसायी विमल पोदार तेत्तीस किलो सुन तस्करीबारे छानबीनका क्रममा डिल्लीबजारबाट पक्राउ परेका छन् ।
आफ्ना व्यापारिक साझेदार पोदारलाई प्रहरीले पक्राउ नगरोस् भनी पूर्वगृहमन्त्री गौतमले ठूलै कसरत गरेका थिए, तर उनको दाल गल्दै गलेन । ३३ किलो सुन तस्करी प्रकरणमा तानिएका पोदार पछिल्ला अभियुक्त हुन् । राजनीतिक आडमा उनले आफूलाई हालसम्म सुरक्षित रहेको र कोही कसैले पनि पक्राउ गर्न नसक्ने बताउँदै आएका थिए ।
विवादास्पद व्यापारी दिपक मल्होत्राका खास मान्छे रहेका पोदारलाई जोगाउन पूर्व एमालेका नेताहरु ज्यान फालेर लागेका थिए । सरकारद्वारा गठित विशेष छानविन समितिले पोदारलाई नियन्त्रणमा लिएको हो । पोदारसँग समितिले बयान लिइरहेको छ । पोदार पक्राउ परेपछि पूर्वगृहमन्त्री गौतमले प्रहरीका उच्च अधिकारीलाई फोन गरेर राम्रो नभएको भन्दै आपत्ति जनाएको स्रोतको दाबी छ । सुनकाण्डमै यसअघि समातिएका बाजेको सेकुवाका मालिकलाई जोगाउन नेपाली काँग्रेसका नेताहरुबाट ठूलै चलेखल भएको पनि स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस