आम मतदाताले सत्तारुढ गठबन्धनलाई निर्वाचनमा सफल बनाउनुपर्छ : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

शुक्रबार, ०४ कार्तिक २०७९, २० : २५
आम मतदाताले सत्तारुढ गठबन्धनलाई निर्वाचनमा सफल बनाउनुपर्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सफल बनाउनुको विकल्प नरहेको दाबी गरेका छन ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता समेत रहनुभएका गृहमन्त्री खाँणले मुलुकको राष्ट्रिय आवश्यक्तालाई ध्यान राखेर पनि आम मतदाताले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा सफल बनाउनुपर्ने बताए ।

शुक्रबार बुटवलमा आयोजित सत्तारुढ गठबन्धनको कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार गृहमन्त्री खाँणले आगामी निर्वाचनमा पनि आफूहरुको पक्षमा मतदान गर्न लुम्बिनी प्रदेशका मतदातालाई आह्वान गरे ।

लुम्बिनी प्रदेशका जनताको चाहना, विकास, शान्ति र समृद्धि भएको उल्लेख गर्दे उहाँले निर्वाचनमा सत्तारुढ दलहरु विजयी भए जनताको सो चाहना पूरा हुने आश्वासन समेत दिए।

गृहमन्त्री खाँणले लोकतान्त्रिक–बाम गठबन्धनबाट मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन भएको स्मरण गराउँदै जनताको समृद्धिको चाहनालाई पूरा गर्न पनि सो गठबन्धन सफल हुने पटकपटक दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस