युएईको जितले नेदरल्याण्ड्स सुपर १२ मा, श्रीलंका समूह विजेता

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, १९ : ३३
युएईको जितले नेदरल्याण्ड्स सुपर १२ मा, श्रीलंका समूह विजेता

काठमाडौं । युएईको जितले नेदरल्याण्ड्स सुपर १२ मा पुगेको छ।अष्ट्रेलियामा जारी टी–२० विश्वकप २०२२ को पहिलो चरणमा समूह एको बिहीबार भएको अन्तिम खेलमा युएईले नामिबियालाई ७ विकेटले हराएपछि नेदरल्याण्ड्स सुपर १२ मा पुगेको हो। 

जितका लागि १४९ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन मात्र बनाउन सक्यो। नामिबियाका लागि डेभिड वाइसले ५५, रुबेन ट्रम्पलम्यानले अविजित रहँदै २५ रन बनाए पनि आफ्नो टोलीलाई जिताउन सकेनन्।

नामिबियालाई लक्ष्यमा पुग्न नदिन युएईका बसिल हमिद र जाहुर खानले समान २ विकेट लिए।यसअघि, टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १४८ रन बनाएको थियो। युएईका मोहम्मद वासिमले अर्धशतकीय पारी खेल्दै ५० तथा चुन्दनगापोयिल रिजवानले ४३ रन बनाएका थिए। 

समूह ए मा समान ४ अंक भएपनि श्रीलंका शीर्ष र नेदरल्याण्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगेका छन्। श्रीलंकाको नेटरनरेट प्लस ०.६६७ र नेदरल्यान्ड्सको ०.१६२ रहेको छ। समान २ अंक भएका नामिबिया तेस्रो र युएई पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएका छन्।

सुपर १२ को समूह एमा इंग्ल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड, अफगानिस्तान, समूह एको विजेता श्रीलंका र समूह बीको उपविजेता रहनेछन् । सुपर १२ को समूह बीमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बीको विजेता र समूह एको उपविजेता नेदरल्याण्ड्स रहनेछन् ।

समूह बीका दुई निर्णायक खेल आयरल्याण्ड र वेस्ट इण्डिज तथा स्कटल्याण्ड र जिम्बावेबीच हुन बाँकी छ। यी खेल शुक्रबार हुनेछन्। 

प्रतिक्रिया दिनुहोस