भरतपुर महानगरले रामपुरमा इञ्जिनियरिङ कलेज चलाउने

सूर्यप्रकाश कँडेल

विहीबार, ०७ असार २०७५, १९ : ५५
भरतपुर महानगरले रामपुरमा इञ्जिनियरिङ कलेज चलाउने

चितवन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कृषि तथा वन विज्ञान अध्ययन संस्थान अन्तर्गत कृषि क्याम्पस रहेको रामपुरमा भरतपुर महानगरपालिकाले त्रिविसँग मिलेर इञ्जिनियरिङ कलेज चलाउने सम्भावना देखा परेको छ । 
भरतपुर महानगरपालिकाले बिहीबार भरतपुरमा आयोजना गरेको सुशासन तथा वित्तीय प्रबन्ध विषयक अन्तरक्रिया कार्यक्रममा भएको छलफलले यस्तो सम्भावना देखाएको हो । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाले ‘भरतपुर महानगर र त्रिवि मिलेर रामपुरमा इञ्जिनियरिङ कलेज संचालन गर्न गृहकार्य सुरु गरौं’ भनेपछि त्यसमाथि प्रतिक्रिया जनाउँदै भरतपुर महानगर प्रमुख रेनु दाहालले भन्नुभयो, ‘इञ्जिनियरिङ कलेजको आवश्यकता हामीले पनि महसुस गरेका छौँ । यो प्रस्ताव सहर्ष स्वीकार गर्न हामी तयार छौँ ।’
प्राडा खनियाले विगतमा त्रिवि र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच ठूलो झगडा परेको र झगडा सल्ट्याउने क्रममा त्रिविले रामपुरमा कृषि क्यापस हटाएर इञ्जिनियरिङ कलेज संचालन गर्ने सहमति भएको जानकारी गराउनु भएको थियो । उहाँले चितवनको रणनीतिक भूगोलले विकास तान्ने भन्दै स्थानीय सरकारले एक प्रतिशत बजेट अन्वेषणका लागि छुट्याउन आग्रह गर्नुभयो ।


कार्यक्रमको अध्यक्षता गर्नुभएकी भरतपुर महानगर प्रमुख दाहालले दोस्रो नगर सभाको तयारीमा कामको चाप बढेको बताउनु भयो । उहाँले दोस्रो नगर सभाका नीति तथा कार्यक्रम भरतपुर महानगरको गुरुयोजनालाई टेवा पुग्ने खालको आउने बताउनु भयो । महानगरले गुरुयोजना बनाउन गइरहेको महानगर प्रमुख दाहालले जानकारी दिनुभयो ।
प्रदेश सभा सदस्य विजय सुवेदीले भरतपुरलाई दक्षिण एसियाको एउटा सुन्दर शहर बनाउनु पर्ने बताउनु भयो । ‘त्यसै अनुरुपका दीर्घकालीन योजना र महानगरका गौरवपूर्ण योजना आउनु पर्छ’ उहाँले भन्नुभयो, ‘नारायणी नदीको सदुपयोगबारे डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउनु पर्छ ।’
कार्यक्रममा सुशासनबारे प्रस्तुति दिँदै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सुशासनका तीन वटा आयाम रहेको बताउनु भयो । उहाँका अनुसार सुशासनका तीन आयाममा राजनीतिक आयाम अन्तर्गत जनसहभागिता, व्यवस्थापकीय आयाम अन्तर्गत छिटोछरितो सेवा र नैतिक आयाम अन्तर्गत पारदर्शिता पर्छन् । तीन महिनामा एक पटक महानगरले भएगरेका काम सार्वजनिक गर्न सके राम्रो हुने उहाँको भनाइ थियो ।


नेपाल सरकारका पूर्वसचिव पूर्णचन्द्र भट्टराईले सुशासन अन्तर्गत पारदर्शिता, उत्तरदायित्व, सहभागिता, कानूनको शासन, प्रभावकारिता एवं दक्षता, समता र समावेशिता पर्ने बताउनु भयो । उहाँले समाजमा रहेको खर्चिलो परम्परा र सँस्कृतिले जनप्रतिनिधिलाई भ्रष्टाचारतिर धकेल्ने गरेको पाइएको अनुभव सुनाउनु भयो । दामासाहीले नभई योजनाको आधारमा वडाहरुलाई बजेट विनियोजन गर्न उहाँले महानगरलाई सुझाव दिनुभयो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उपसचिव कपिलप्रसाद सुवेदीले स्थानीय सरकारको वित्त व्यवस्थाबारे प्रस्तुति दिनु भएको थियो । भरपर्दो र सही सूचनाको लागि छुट्टै इकाई र सम्पर्क व्यक्तिको व्यवस्था गर्न सुझाव दिनुभयो । स्थानीय सरकारले प्राप्त गरेका अनुदान तथा अन्य स्रोतको रकम तोकिएको क्षेत्रमा मात्र खर्च हुने सुनिश्चितता होस् भन्ने आयोगको अपेक्षा रहेको उहाँको भनाइ थियो ।
छलफलमा सहभागी चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले महानगरमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योग क्षेत्रको विकास एकसाथ अगाडि बढिरहेको बताउनु भयो । कार्यक्रममा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले धन्यवाद मन्तव्य र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले स्वागत मन्तव्य राखेका थिए । 
 

प्रतिक्रिया दिनुहोस