सरकारलाई इराकमा कार्यरत नेपालीको आग्रह- प्रतिबन्ध हटाइयोस्

सफल खबर संवाददाता

विहीबार, ०३ कार्तिक २०७९, १२ : ५७
सरकारलाई इराकमा कार्यरत नेपालीको आग्रह- प्रतिबन्ध हटाइयोस्

काठमाडौं । इराकको कुर्दिस्तानमा कार्यरत नेपालीहरूले त्यहाँ आफूहरू सुरक्षित भएको बताउँदै प्रतिबन्ध हटाउन सरकारसमक्ष आग्रह गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालसँग भेट गर्दै कुर्दिस्तान प्रवासी नेपाली समाजका अध्यक्ष विनोद श्रेष्ठ र उपाध्यक्ष ठूल कान्छा शेर्पाले कुर्दिस्तानमा कार्यरत नेपाली सुरक्षित रहेको बताएका हुन्। कुर्दिस्तान राज्य सतप्रतिशत सुरक्षित रहेको बताउँदै उनीहरूले प्रतिबन्ध हटाउन आग्रह गरे।

कुर्दिस्तान इराकको प्रान्तीय सरकार हो। कुर्दिस्तानमा मात्र झन्डै २० नेपाली कार्यरत रहेको अनुमान छ। युद्धग्रस्त इराकमा रोजगारीको लागि जान नेपाल सरकारले अनुमति दिएको छैन। तर, आकर्षक तलबका कारण बेरोजगार नेपालीको गन्तब्य इराक बनेको छ।

कुर्दिस्तानका विभिन्न सहरमा हजारौँ नेपाली अवैध ढंगले रोजगारीका लागि पुगेका छन्। उनीहरू अवैध बाटो तथा सेटिङमार्फत त्यहाँ पुगेका हुन्।नेपालीहरू भारत, दुबई, यूएई, टर्की, थाइल्यान्ड हुँदै इराक पुग्ने गरेका छन्। इराकमा कति नेपाली छन् भन्ने तथ्यांक सरकारसँग छैन। इराकमा नेपाली दूतावास छैन। जसले गर्दा यहाँ समस्यामा परेका नेपालीले गुनासो सुनाउनसमेत पाउँदैनन्। इराकको सबै काम कुवेतमा रहेको नेपाली दूतावासले हेर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस