स्टार खेलाडी नेमारले दोस्रो खेल खेल्ने अनिश्चित

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०७५, १५ : ५४
स्टार खेलाडी नेमारले दोस्रो खेल खेल्ने अनिश्चित

चितवन ।  विश्वकपमा ब्राजिलले दोस्रो खेल शुक्रबार कोस्टारिका खेल्दैछ । तर, उसका कप्तान तथा स्टार खेलाडी नेमार खेल्ने भने अनिश्चित बनेको छ ।

चोटका कारण सोमबार अभ्यासमा सहभागी नभएका नेमार मंगलबारको हल्का अभ्यासमा पनि केहीछिन मात्रै देखिएका थिए । त्यसबारे पुष्टि गर्दै ब्राजिल फुटबल फेडेरेशनका प्रवक्ता भिनिकिवस रोड्रिगेजले भने, 'दायाँ खुट्टाको जोर्नीमा दुखार्इ महसुस भएपछि नेमार अभ्यासबाट बाहिरिएका हुन । दुखार्इ महसुस हुने वित्तिकै उनी फिजियोको गएका छन् । म‌ंगलबार र बुधबार उनले फिजियोकोमा बिताउने छन् र बिहीबारबाट प्रशिक्षणमा फर्कने अाशा छ ।'

स्वीट्जरण्डसँगको अाइतबार भएको पहिलो खेलमा उनीमाथि १० चोटी फउल भएको थियो । उक्त खेलमा ब्राजिल स्विट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो । खेलमा फिलिप्पे कौटिन्होले ब्राजिलका लागि गोल गरेका थिए ।

'नेमार धेरैपटक टार्गेटमा परे,' रोड्रिगेजले भने, 'उनीमाथि निकै पटक फउल भयो र लात पनि बजारिए । तर, अघिल्लो दिनभन्दा अहिले उनको अवस्था सुधारोन्मुख छ ।'

पेरिस सेन्ट जर्मनबाट खेल्दा गत फ्रब्रुअरीमा खुट्टामा चोट लागेपछि उनको अप्रेसन गरिएको थियो । तर, उक्त चोट अहिलेको नेमारको समस्या नभएको प्रवक्ता रोड्रिगेजले स्पष्ट पारेका छन ।

उक्त अप्रेसनपछि नेमार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जुन पहिलो सातामात्रै क्रोयोसियाविरुद्ध ब्राजिलको टोलीबाट खेलेका थिए । क्रोयोसिया र अर्को अस्ट्रियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेमारले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस