कर्णालीबाट स्वतन्त्रसहित तीन जना मात्र महिला उम्मेदवार

सफल खबर संवाददाता

मंगलबार, २५ असोज २०७९, १९ : ३९
कर्णालीबाट स्वतन्त्रसहित तीन जना मात्र महिला उम्मेदवार

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाबाट स्वतन्त्र उम्मेदवारसहित तीन जना महिला प्रतिनिधिसभाका लागि उम्मेदवार भएका छन् । १२ सिट रहेको कर्णालीमा डोल्पा (स्वतन्त्र सहित) जुम्ला र दैलेखबाट मात्र प्रतिनिधिसभाका लागि तीन जना महिलाहरू चुनावमा भिड्दै छन् । 

जुम्लामा गोमा कुँवर (गौतम) र राप्रपाले दैलेख क्षेत्र नम्बर १ मा महामन्त्री कुन्ती शाहीलाई प्रत्यक्षतर्फ उम्मेदवार भई चुनावी मैदानमा रहेका छन् । जुम्लाकी कुँवर गठबन्धनको बलमा नेकपा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग प्रतिस्पर्धामा उत्रिएकी छन् भने राप्रपा नेतृ कुन्ती दैलेखमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मासँग प्रतिस्पर्धा गर्दै छिन् ।

दुवै जनाले संविधानसभा निर्वाचनमा समानुपातिकबाट निर्वाचित भएर संघीय सरकारमा राज्यमन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् । कुँवर २०७० को दोस्रो संविधानसभा सदस्य हुँदै पशुपन्छी राज्यमन्त्री बनेकी थिइन् भने राप्रपा महामन्त्री शाही ०७२ मा ६ महिना स्थानीय विकास राज्यमन्त्री र २०७४ मा ३ महिना सहरी विकास मन्त्री भएकी हुन् ।

दुवै जना पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ चुनाव लडेका थिए । जसमा कुन्ती दुवै पटक सफल भइन् भने गोमा पहिलो निर्वाचनमा असफल भए पनि दोस्रो पटक सफल भइन् ।

जुम्लाको विकट तातोपानी गाउँपालिका–४ गौतमबाडा गाउँमा जन्मेकी गोमा १४ वर्षकै उमेरमा जनयुद्धमा होमिएकी हुन् । ०५६ सालमा सोही पालिकाकै वडा नम्बर ७ का वीरबहादुर कुँवरसँग उनले जनवादी विवाह गरिन् । वीरबहादुर पनि जनयुद्धमै सहभागी थिए ।

कुन्ती शाहीको राजनीतिक यात्रा भने अनेरास्ववियुबाट सुरु भएको हो । ०४७ सालमा राप्रपामा लागेकी उनले राप्रपाको महामन्त्री बन्न झण्डै तीन दशक संघर्ष गर्नुपर्‍यो । उनको पारिवारिक पृष्ठभूमि पञ्चायती राजनीति नै भएकाले उनी राप्रपाको राजनीतिमा समावेश भएकी थिइन् । विद्यार्थी राजनीतिमा उनले नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा निकै लोकप्रियता कमाएकी थिइन् । अहिलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विद्यार्थी संघको अध्यक्ष हुँदा कुन्ती उपाध्यक्ष थिइन् । 

शाहीसँग प्रतिस्पर्धामा रहेका एमाले नेता रवीन्द्रराज शर्मा दोस्रो पटक चुनाव लड्दै छन् भने गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका अम्मर बहादुर थापा दैलेखका लागि पुरानै अनुहार हुन् । 

त्यस्तै डोल्पाबाट प्रतिनिधिसभामा बदमी क्वारा बुढाले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । यो भन्दा पहिला डोल्पाबाट प्रदेशसभा सदस्य रहकी बुढा नेकपा एमालेले अन्तिममा आएर एसबाट एमालेमा प्रवेश गरेका गणेश शाहीलाई उम्मेदवार बनाएपछि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । गठबन्धनका धनबहादुर बुढा , नेकपा एमालेको तर्फबाट गणेश शाहीसँग उनी चुनाव भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस