खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यति बेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् ।
मुन्दुम ट्रेल आसपासका हरिया वन तथा घाँसे मैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङ मिसिँदा देखिने दृश्यले जो कोहीको मनलाई मोहित बनाउने गरेको छ ।
खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट सुरु भएको मुन्दुम ट्रेल आसपासका वनमा फुलेका लालीगुराँस, चिमाल तथा चाँप हेर्न यति बेला आन्तरिक तथा बाह्य पर्यटक मुन्दुम ट्रेल आउने गरेको स्थानीयले बताएका छन् ।
हालै मात्र मुन्दुम ट्रेलको पदयात्रा पूरा गर्नुभएका हिँड्ने मान्छे उपनामले चिनिनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारका ओजनबाबु आचार्य नेतृत्वको टोलीले उक्त क्षेत्र निकै मनोहक रहेको बताएको छ ।
उक्त टोलीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका लालबहादुर मगर ‘एलबी’, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका सञ्जिव राई र साकेला गाउँपालिका–३ खिदिमाका सन्जित राई सहभागी थिए । मुन्दुम ट्रेलको चार दिने यात्रा पूरा गरेर फर्किएको टोलीले सामाजिक सञ्जाल फेसबुक तथा इन्स्टाग्राममा राखेका विभिन्न रङ र प्रजातिका गुराँसका तस्बिर अहिले धेरैको रोजाइमा परेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २० बैशाख २०८३, १२ : ०६
लेखकबाट थप