नौ लाख नक्कली नेपाली नोटसहित पक्राउ

सफल खबर संवाददाता

सोमबार, २४ असोज २०७९, २० : ३६
नौ लाख नक्कली नेपाली नोटसहित पक्राउ

वीरगञ्ज  । बारा प्रहरीले ९ लाख नक्कली नेपाली नोटसहित पक्राउ परेकाहरूलाई सर्वाजनिक गरेको छ।सोमवार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत नक्कली नेपाली नोटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो।

नक्कली नोटसहित पक्राउ पर्नेमा भारत मोतीहारी पूर्वी चम्पारण पिपराकोठी बस्ने २५ वर्षीय रञ्जितकुमार मुखिया, कलैया उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षीय सैनुल्लाह अन्सारी र सिम्रौनगढ नगरपालिका–२ बस्ने ३६ वर्षका बिनाका मुखिया बिन रहेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

प्रहरी उपरीक्षक बोगटीका अनुसार असोज २१ गते रञ्जितले सिम्रौनगढ नगरपालिका–५ कनकपुर स्थित एसपी साइन मोटरसाइकल लिएर नेपाल भित्रिने क्रममा पक्राउ परेका थिए।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सैनुल्लाह र बिनाका पनि संलग्न रहेको देखिएपछि असोज २३ मा उनीहरूलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए।

उनीहरू लामो समयदेखि नक्कली नेपाली नोट नेपालमा विभिन्न माध्यमले भित्र्याउँदै आएका गिरोह नै रहेको जानकारी दिए।उनले निर्वाचन र चाडपर्वको मौका छोपी सिम्रौनगढ इलाकाबाट नक्कली नोटको कारोबार गर्दै आएको अनुसन्धानका क्रममा देखिएको बताए।

प्रतिक्रिया दिनुहोस