काठमाडौं । गत वर्ष यहाँका किसानले धान भित्र्याउँनै लाग्दा अविरल वर्षाका कारण धान डुबानमा परी ठूलो क्षति भएको थियो ।
वर्षाले धान उठाउन त के किसानले धानको बीउसमेत जोगाउन सकेका थिएनन् । कतिपयले खेतमा धान काटेका थिए भने कोहीले थ्रेसर गर्न ठिक्क पारेर जम्मा गरेका थिए । धान उठाउन नपाएर पूरै क्षति भएको थियो । वर्षा बढ्न थालेपछि खेतमा पाकेको धानबाली क्षति हुने भन्दै यहाँका किसानका मनमा एक प्रकारको चिन्ता बढ्न थालेको छ ।
बुधबारदेखि निरन्तर वर्षा भइरहेकाले किसानका मनमा चिन्ता बढेको हो । अहिले किसानका खेतमा धान लटरम्मै पाकेको छ । कतिपयले काट्न सुरु गरिसकेका छन् । गत वर्षकै झै अवस्था यसपालि पनि दोहोरिने हो की भन्ने चिन्तामा छन् धनगढीको सरस्वती नगरका कृषक किसान माइला चौधरी । वर्षाले गत वर्ष खेतमा काटेको धान डुबानमा परी तैरीएको बिर्सिनसकेको उहाँले सुनाउनुभयो । धान भित्र्याउनै लाग्दा ठूलो वर्षा भएपछि उहाँको झण्डै तीन बिघा क्षेत्रफलमा लगाएको धान पूरै क्षति भएको थियो ।
वर्षा रोकिएला र धान जोगाउँला भन्दाभन्दै एक साताभन्दा बढी पानी परेपछि धान उठाउन त के धानको बीउसमेत जोगाउन नसकिएको चौधरीको भनाइ छ । धनगढीको शान्तिनगरकी निर्मला फुलाराले गए रातिको वर्षाले आफूले काटेर घरको आँगनमा राखेको धानमा क्षति पुगेको सुनाउनुभयो ।
त्यस्तै धनगढीको बैयाबेहडीका किसान रामभगत चौधरीले खेतमा धान पाकेर काट्ने बेला भएको तर पानी पर्न थालेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै दुखेसो पोख्नुभयो । “वर्षा भइरहेकाले अघिल्लो वर्षकै स्थिति सिर्जना हुने पो हो की भन्ने पिरलो हुन थालेको छ”, उहाँले भन्नुभयो
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ असोज २०७९, १८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरको बेलौरीमा भारी वर्षा
कैलालीको गर्भा दरबार क्षेत्रमा भारी वर्षा
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु
वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा
मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह