अर्थतन्त्र चलायमान बनाउने पर्व दसैँ

सफल खबर संवाददाता

सोमबार, १७ असोज २०७९, १५ : ३६
अर्थतन्त्र चलायमान बनाउने पर्व दसैँ

काठमाडौं । हिन्दू धर्माम्बलम्बी नेपालीको महान चाड दसैँलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकतासहित स्वागत गरेको छ । कोराना महामारीले अघिल्ला दुई वर्ष सुनसान बनेका यहाँका बजार क्षेत्रमा यस वर्ष भने पुनः वस्तु वा सेवा खरिद बिक्री गर्नेको भिडभाड दोहोरिएको छ । 

 दसैँले छोपिएको यतिबेला मधेस प्रदेशको राजधानी जनकपुरधामको बजारसहित देशभरिकै बजारमा हरेक वर्ष झैं चहलपहल बढेको छ ।

किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, हल्का पेय पदार्थ, मोवाइल, टेलिभिजन, कपडा धुने मेसिन, फ्रिजलगायत विद्युतीय उपकरणका पसलहरुमा किनमेल गर्नेहरुको भीड अत्याधिक देखिएको छ । वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल÷रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी देखिएको छ ।

दसैँ र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रित गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न छुटका कार्यक्रमहरु सार्वजनिक गरिरहेका छन् । उपभोगमा आधारित हाम्रो अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दसैँमा उपभोग हुने अनुमान गरिन्छ ।

लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनोविनोद गर्ने, खुसी साटासाट गर्ने र मान्यजनको आशिर्वाद लिने दसैँ पर्वमा मानिसले धक फुकाएर खर्च गर्छन् । यसले बजारमा बहार ल्याउने र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने अर्थशास्त्रका विज्ञहरु बताउँछन् । 

जनकपुरधामका अर्थशास्त्र विषयमा लामो समयदेखि प्राध्यापन गर्दै आउनु भएका उज्ज्वल दाहाल वर्षभरि हुने घरयासी खर्चको एकतिहाइ दसैँमा खर्च हुने गरेको बताउनुहुन्छ ।

उहाँले उद्योगी व्यवसायीले दसैँ, तिहार र छठ पर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँनयाँ छुटका कार्यक्रमहरुसहित ग्राहकलाई लोभ्याउने गरेको बताउनुभयो ।