चितवनमा माओवादी प्रवेश गर्नेको लर्को, एकै दिन ७ सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

सफल खबर संवाददाता

आइतबार, ०९ असोज २०७९, १७ : १९
चितवनमा माओवादी प्रवेश गर्नेको लर्को, एकै दिन ७ सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

चितवन । संघीय निर्वाचनको नजिकिदै जाँदा चितवनमा माओवादी प्रवेश गर्नेको लर्को लागेको छ । आइतबार जिल्लास्थित पार्टी कार्यालय कृष्णपुरमा ७ सय जनाले विभिन्न दल त्यागेर नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नव प्रवेशीहरुलाई खादाँ लगाएर पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको ध्ये जनताको अवस्था बदल्ने रहेको बताए ।

प्रचण्डले लामो संघर्षपछि व्यवस्था बदलेको र अब जनताको अवस्था बदल्ने गरी अघि बढ्ने बताए ।प्रचण्डले भने, ‘निकै ठुलो त्याग तपस्यापछि व्यवस्था बदलियो। अब जनताको मन छुने गरी अवस्था बदल्न लाग्नेछु। व्यवस्था बदलियो जनताको अवस्था बदल्ने हाम्रो प्रतिवद्धता छ। ’

विकास र समृद्धिको नयाँ मोडेल चितवनबाट प्रदर्शन गरिने बताए । ‘चितवन र चितवनमार्फत् सिंगै देशमा विकासको गति दिइने छ । उत्पीडित वर्ग जाति र समुदायलाई समृद्धिको नयाँ उचाइमा लैजाने सोच छ।’

उनले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत तथा धन्यवाद व्यक्त पनि गरे । कार्यक्रममा चितवनका स्थापित ब्यवसायी तथा उद्यमी विजय घले नेकपा एमाले परित्याग गरी ३ सय कार्यकतासहित माओवादी प्रवेश गरे । यस्तै माओवादी नेता दानबहादुर गुरुङको पहलमा भरतपुर १८ का आमा समुहसहित २ सय कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेको पार्टीका चितवन जिल्ला सचिव द्रोणबाबु शिवाकोटीले जानकारी दिए।

यस्तै भरतपुर १६ बाट मुस्लिम समुदायको धर्मगुरुको नेतृत्वमा माओवादी केन्द्र प्रवेश गरेका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य नायरायण दाहाल, पोलिटब्युरो सदस्य सूर्य सुवेदी पथिक, रेनु दाहाल, ज्ञानु बस्नेत, केन्द्रीय सदस्य ईश्वरी भट्टराई, ठाकुर ढकाल लगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस