सरकारसँगको १० बुँदे सहमतिपछि डा.केसीले तोडे अनशन

सफल खबर संवाददाता

शनिबार, ०८ असोज २०७९, २१ : ००
सरकारसँगको १० बुँदे सहमतिपछि डा.केसीले तोडे अनशन

काठमाडौं । विभिन्न सात बुँदे मागसहित अनसनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सरकार र विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको हो । १० बुँदे सहमतिसँगै डा. केसीले अनशन तोडेका छन् । शनिबार डा. केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

डा. केसीका मागमध्ये धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन नसकेको बताइएको छ । यस विषयमा निरन्तर संघर्षमा रहने केसी पक्षले जनाएको छ । साथै समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिए ।

डा. केसीले विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयको संयोजकत्वमा वार्ता टोली बनाएको थियो । स्वास्थ्य सचिव रोशन पोखरेल र शिक्षासचिव रामकृष्ण सुवेदी टोलीका सदस्य रहेका थिए ।

यता केसी तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र सुवेदी वार्ता टोलीमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस