काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिए पनि उनीप्रति इंगित गर्दै नेता नेपालले भनेका छन्, ‘दुई दुई पटक असंवैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृति विरूद्ध अघिल्लो वर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नु वाञ्छनीय हुनेछ ।’
आठौं संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताएका छन् । ‘जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिन्छ । संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न हाम्रो पार्टी प्रतिवद्ध छ,’ उनले भनेका छन् ।
४ मंसिरमा तय भएको प्रादेशिक र संघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘यही बेला संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने र झुक्याउने प्रपञ्च गरिरहेका छन्,’ उनले भनेका छन्, ‘हामीलाई पूर्ण विश्वास छ, जनआकांक्षा अनुरुप आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्ने हाम्रो अभियानमा यहाँहरुबाट सहयोग, सद्भाव र सुझबुझपूर्ण निर्णय हुनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ असोज २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल