‘प्रेम गीत ३’ हिन्दी डबलाई हिन्दी चलचित्रकै व्यवहार गर्न निर्माता संघको माग

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, २१ : ५७
‘प्रेम गीत ३’ हिन्दी डबलाई हिन्दी चलचित्रकै व्यवहार गर्न निर्माता संघको माग

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले विदेशी भाषाको चलचित्रलाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु वाञ्छनीय नभएको दावी गरेको छ ।

नेपाल चलचित्र निर्माता संघका महासचिव सुनिलकुमार थापाले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै सो कुरा उल्लेख गरेका हुन् । यतिबेला चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबको विवाद उत्कर्षमा छ । यस फिल्मका निर्माताले चलचित्र विकास बोर्डमा हिन्दी डबलाई नेपाली चलचित्र सरह सेवा सुविधा दिन माग गर्दै निवेदन बुझाएपछि नेपाल चलचित्र संघ हिन्दी त्यसको विपक्षमा छ ।

‘प्रेमगीत ३’का निर्माताबाट निवेदन आएपछि गत बिहीबार चलचित्र विकास बोर्डले राय लिनका लागि निर्माता संघसहित केही संघ संस्थाका पदाधिकारीलाई बोलाएको थियो । जहाँ निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी डबलाई नेपाली चलचित्र सरह सुविधा माग्नु राष्ट्रघात र देशद्रोही रहेको अभिव्यक्ति समेत दिएका थिए । जुन अहिले चर्को विवादमा छ ।

“देशको नियम र कानूनको अधिनमा रही जो कोहीले पनि जुनसुकै भाषाका चलचित्र प्रदर्शन गर्न सक्दछन् र पाउँदछन् पनि । तर, विदेशी भाषाको चलचित्रलाई देखाएर स्वदेशी सरहको सेवा र सुविधाको मागदाबी गर्नु वाञ्छनीय नहुनुका साथै ऐन–कानूनको बर्खिलापमा हुने र यसले भविष्यमा समेत विकृतिको सुरुवात गर्नसक्छ भन्ने निर्माता संघको मान्यता हो ।” थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस