रसुवागढी नाकाबाट भित्रिन थाले समानका कन्टेनर

सफल खबर संवाददाता

आइतबार, ०२ असोज २०७९, ११ : ३७
रसुवागढी नाकाबाट भित्रिन थाले समानका कन्टेनर

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ । केरूङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द गराएको थियो । आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो ।

गत भदौ ३० बाट आयात पुनः सुरु भएपश्चात तीन दिनको अन्तरालमा ५६ चिनियाँ मालवाहक कन्टेनरले रसुवागढीस्थित नेपाली भू–भागमा मालसामान ल्याइरहेको सीमा सुरक्षाकर्मीले बताएका छन् । गत बिहीबार १४, शुक्रबार तथा शनिबार २१–२१ चिनियाँ कन्टेनरले रसुवागढीमा मालसामान ल्याएका बताइएको छ ।

सामान आयातमा विगतको अभिलेख हेर्दा दैनिक १४ कन्टेनरमात्र पठाइरहेको चिनियाँ भन्सारले पछिल्लो समय २१ कन्टनेरबाट सामान उपलब्ध गराएको जनाइएको छ । यसबाट उपभोक्ताको माग आपूर्तिमा सहज भएको तथा पालो कुरेर बेरोजगार बसिरहेका यहाँका सयौँ सवारी चालकलाई थप रोजगारी मिलेको छ ।

बडादशैँलाई केन्द्रित गरी नेपाली व्यवसायीले आयात गराएको सामग्रीमध्ये दुई कन्टेनर दाँतेओखर र ४६ कन्टेनर तयारी पोशाक रहेको प्रहरीले जनाएको छ । यस्तै अन्य सात कन्टेनरमा भने नेपालमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका सामग्री रहेको भन्सार अधिकारीले जनाएका छन् ।

व्यापारीलाई परेको मर्का समाधान गरी रोकिएर बसेको सामग्री कूटनैतिक पहलबाट दशैँअगावै आयात गर्न सहजीकरण गरिदिनुहुने परराष्ट्रमन्त्रीलगायत सबै अधिकारीमा व्यापारीका तर्फबाट धन्यवाद ज्ञापन गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिनुभयो । नेपाल भित्रिएका सामान ढुवानीका लागि सयौँ कन्टेनर रसुवागढी तथा टिमुरे क्षेत्र पुगिसकेको र चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनरलाई वजन पुग्ने सीमा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस