खुला खोरभित्र बाघ पसेर अर्नाको शिकार

विहीबार, २८ मंसिर २०७४, २० : ०३
खुला खोरभित्र बाघ पसेर अर्नाको शिकार

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा रहेको खुला खोरभित्र पसेर बाघले अर्नाको शिकार गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार, मंगलबार अनुगमनमा गएको टोलीले खोरभित्रको एउटा वयस्क पोथी अर्ना मरेको अवस्थामा फेला परेको थियो । बुधबार मृत अर्नाको शव परीक्षण गर्न गएको टोलीले अर्ना नभेटिएपछि खोजी गर्दै जाँदा घटनास्थलबाट ६० मिटर पर झाडीमा अर्नाको आधा भाग बाघले खाएको अवस्थामा फेला पारेको हो । 

निकुञ्जका अनुसार घटनास्थल वरपर खोजी गर्दै जाँदा बाघसमेत फेला परेको छ । टोलीले बाघलाई लखेटेर खोर बाहिर पठाएको छ । वर्षामा बाढीले बगाएर मर्मत गरिएको ठाउँबाट बाघ खोरभित्र पसेको देखिएको निकुञ्जले जनाएको छ । उक्त बाघ सोही बाटो हुँदै बाहिरिएको निकुञ्जले जानकारी दिएको छ ।

कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट १२ र काठमाडौँको चिडियाखानाबाट तीन गरी १५ अर्ना गत वर्ष चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो । चिडियाखानाबाट ल्याइएका तीन अर्ना केही समयपछि नै मरेका थिए भने गत वर्षाको बाढीपछि भदौ २२ र २५ गते दुई पोथी अर्ना मरेका थिए । 

अहिले बाघले एक अर्नाको शिकार गरेसँग अब खुला खोरमा नौ अर्ना बाँकी छन् । तीमध्ये दुई भाले छन् । निकुञ्जको पदमपुर क्षेत्रमा खुला खोर निर्माण गरी स्थानान्तरण गरी ल्याइएका अर्ना राखिएको छ । खोरमा अर्नाको संख्या वृद्धि गरी ठूलो समूह बनेपछि खुला रुपमा छाड्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस