तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिए

रासस

विहीबार, ३० भदौ २०७९, २० : ५७
तातोपानी नाकाबाट आज दुई वटा कन्टेनर भित्रिए

काठमाडौ । तातोपानी नाकाबाट आज दुईवटा कन्टेनर भित्रिएका छन् । एउटामा कच्चा ऊन र अर्कोमा हाइड्रोलगायतका मेसिन भित्रिएको भन्सार अधिकृत लक्ष्मण बाँस्तोलाले जानकारी दिए ।

मङ्गलबारसम्म ११ कन्टेनर स्याउ, खुद्रा सामान तथा लसुन भित्रिएको पनि भन्सार कार्यालयले जनाएको छ । हिजो भने कुनै पनि समान नआएको बाँस्तोलाले जानकारी दिए । विसं २०७२ को भूकम्पपछि यो नाका सहज सञ्चालन हुन सकेको छैन । भूकम्पअघि दैनिक करोड बढी राजस्व तातोपानीबाट उठ्ने गरेको थियो । 

झण्डै एक महिना बढी समयदेखि कोभिड–१९ को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् । नेपालको चारदिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमतिपश्चात् नाका खुलेको बताइएको छ । 

साथै कोभिड–१९ को सङ्क्रमण घटेकाले पनि दुवै नाका आजदेखि सञ्चालन गरिएको समेत जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस