बाढी पहिरा प्रभावितलाई तत्काल उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन

सफल खबर संवाददाता

शनिबार, २५ भदौ २०७९, १६ : २५
बाढी पहिरा प्रभावितलाई तत्काल उद्धार गर्न गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढी पहिरामा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गृहमन्त्री खाँणको निर्देशनपछि बाढी र पहिरामा परी गम्भीर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको र घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिए । नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यका अनुसार महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिराले ठूलो क्षति पुर्‍याएको छ ।

अहिलेसम्म पाँच जनाको शव भेटिएको छ भने सात जना बेपत्ता तथा आठ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको उनले बताए। गृहमन्त्री खाँणले बाढी पहिराबाट विस्थापितलाई तत्कालीन राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिए ।

उनले सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि कुनै कसर बाँकी नराख्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस