पर्यटकको मन लोभ्याउने पर्वत

सफल खबर संवाददाता

विहीबार, २३ भदौ २०७९, ११ : ४९
पर्यटकको मन लोभ्याउने पर्वत

कुश्मा । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो ।‘परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ‘ कुश्मामा होटल व्यवसाय गर्दै आएका सूर्य केसीले भने, ‘पोखरादेखि यता कि उता, बागलुङभन्दा टाढा पर्छ हो ?, जस्ता सवालले हैरानै भएर केहीलाई त घर बागलुङ हो भनिदिन्थेँ तर अहिले पर्वत नचिन्ने कमै छन् । साहसिक पर्यटनको लागि पर्वत गतिलो गन्तव्य बनेको छ ।’

जिल्लामा अग्ला र लामा झोलुङ्गे पुलदेखि बन्जी, स्वीङ, जिपलाइनलगायत खेलबाट भरपुर आनन्द उठाउन सकिन्छ ।‘पर्वत र बागलुङलाई जोडेर बन्जी निर्माण गरिए पनि यसको बढी फाइदा पर्वतलाई नै भएको छ’ कुश्माका दिनेश तिवारीले भने, ‘यहाँका होटल तथा रेष्टुराँ व्यवसाय फस्टाएका छन् भने गुमनाम पर्वतलाई सबैले चिन्न थालेका छन् ।’

बन्जी र स्वीङका लागि बनाइएको झोलुङ्गे पुल तरेर कुश्मादेखि पारी बागलुङमा बनेको रिसोर्टमा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । पाँच सयको टिकट काटे पछि मात्रै पुलको बाटो रिसोर्ट परिसरमा पुग्न सकिन्छ । त्यहाँ गुलेली पिङ, स्काइचियर, साइकिलिङ, स्काइक्याफेलगायत खेलको मज्जा लिन सकिन्छ । प्रत्येक खेलको चाहिँ बेग्लाबेग्लै पैसा तिनुपर्ने हुन्छ ।

‘हिजो पोखरा बसेर बिहानै कुश्मा आइकन बन्जी पनि गरिसक्यौँ ,’ रिसोर्ट परिसरमा तस्बिर खिच्नमा व्यस्त धादिङका सुसन तामाङले भने, ‘बागलुङ दर्शन गरेर आजै धादिङ फर्कन्छौँ ।” धादिङका सुसन तामाङजस्तै अन्य पर्यटक पनि बन्जीमै मस्त देखिन्थे । “कुश्माको नजिकमा थुप्रै प्राकृतिक तथा धार्मिक महत्वका आकर्षक गन्तव्य छन् ।’

सञ्चारकर्मी अगन्धर तिवारीले भने, “स्थानीय सरकारको उदासिनता र उचित प्रचारप्रसार नहुँदा बन्जी आइपुग्ने पर्यटक त्यहाँ सम्मपुग्न सकेको देखिँदैन ।’

दुर्लुङकोट     

कुश्मादेखि दुर्लुङ गाउँपुग्ने बाटो पहिलेजस्तो अप्ठ्यारो छैन । हरियाली वनभित्रको नागबेली कालोपत्रे सडक हुँदै १५ मिनेट यात्रा गरेपछि सुन्दर गाउँ, दुर्लुङ पुग्न सकिन्छ । गाउँ उक्लँदै गर्दा वरैबाटडाँडाको टुप्पोमा अवस्थित दुर्लुङकोट भूमे मन्दिर पुगिन्छ । बाइसे, चौबिसे राजाको पालादेखिनै महत्वपूर्ण मानिएको दुर्लुङकोट भूमे मन्दिरमा पुगी पूजाआजा गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।

‘हरेक वर्ष बडादसैँ, चैते दसैँ र उभौलीमा पूजाआजादेखि बलि दिने गरिएको छ’ दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका सदस्य प्रितम गुरुङले भने, ‘धार्मिक तथा ऐतिहासिक महत्वको यो ठाउँ प्राकृतिक दृष्टिले समेत अर्थपूर्ण छ ।’

उनले भने, ‘दुर्लुङकोटबाट म्याग्दी, बागलुङ, कास्की, पाल्पा, स्याङ्जा र पर्वतलाई एकै पटक नियाल्न सकिन्छ । यहाँबाट धौलागिरि, धौलाशिरि, माछापुच्छ्रे  अन्नपूर्णलगायतका हिमशृङ्खला पनि देख्न सकिन्छ ।’

केही वर्षदेखि दुर्लुङ पुग्ने पर्यटकलाई लक्षित गरेर होमस्टे पनि सञ्चालनमा ल्याइएको छ । होमस्टेमा पुग्ने पर्यटकले गाउँको कला, संस्कृति र खानपानको पनि मज्जा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस