माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन सक्दैन : मन्त्री चौधरी

सफल खबर संवाददाता

शनिबार, १८ भदौ २०७९, १० : ५९
माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन सक्दैन : मन्त्री चौधरी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् ।

एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ । कम्युनिष्ट पार्टीको संगठन बनाएर विशाल पार्टी बनाउने नेता हो उहाँ । लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेता हो उहाँ । शान्ति, संविधान र लोकतन्त्रका निम्ति जीवन समर्पण गरेको नेता हो माधव नेपाल । त्यसकारण तपाईहरु ढुक्क हुनुस्, माधव नेपालले नेतृत्व गरेका पार्टी कहिल्यै कमजोर हुँदैन ।’  

पार्टी विद्रोहको औचित्यबारे मन्त्री चौधरीले सुनाए, ‘तपाईँहरुलाई माधव नेपालले किन विद्रोह गर्नुपर्यो, राजेन्द्र पाण्डे, गंगालाल तुलाधरले किन विद्रोह गर्नुपर्यो भन्ने पक्कै लागेको होला । यदि हामीले विद्रोह नगरेको भए नेपालमा कम्युनिष्ट पार्टीको औचित्य समाप्त हुन्थ्यो । त्यत्रो ठुलो पार्टी बनाएर पनि हुँदो रहेनछ भन्ने जनतामा मनोविज्ञान निर्माण हुने थियो । अर्को कुरा कम्युनिष्टहरु तानाशाही हुन्छन् । संवैधानिक सर्वोच्चता मान्दैनन् भन्ने कुरा स्थापित हुन्थ्यो । हो, यस्ता प्रश्नहरूको हामीले जवाफ दिनुपर्ने भयो । अझै पनि मुलुकमा कम्युनिष्ट आन्दोलनको औचित्य छ र यसलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता भयो । जनताले पहिलोपटक बनाएको संविधान जोगाउनुपर्नेभयो ।’ 

करिब एक घण्टा मन्तव्य राखेका मन्त्री चौधरीले ओली नेतृत्वको एमाले सबैभन्दा भ्रष्ट, सबैभन्दा घुसखोरी र सबैभन्दा धेरै दलालहरूको अखडा बनिसकेपछि विद्रोह अनिवार्य बनेको धारणा राखे । कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय अनुशासन आयोग सदस्य कृष्णहरि श्रेष्ठ, जिल्ला सचिव सुवास खतिवडा, तामाङ महासंघका केन्द्रीय उपाध्यक्ष वीरबहादुर तामाङ लगायतले आफ्ना भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस