नवौँ राष्ट्रिय खेलकुदका लागि तयारी तिब्र, तनहुँबाट २ सय २१ खेलाडी छनोट

सफल खबर संवाददाता

सोमबार, १३ भदौ २०७९, ०८ : १२
नवौँ राष्ट्रिय खेलकुदका लागि तयारी तिब्र, तनहुँबाट २ सय २१ खेलाडी छनोट

काठमाडौँ । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट दुई सय २१ खेलाडी छनोट भएका छन्। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताबाट दुई सय २१ खेलाडी छनोट भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

फुटबलतर्फ १४ पुरुष र १४ महिना गरी २८, भलिबलतर्फ नौ पुरुष र नौ महिला गरी १८, क्रिकेटतर्फ १४, बास्केटबलतर्फ नौ, टेबलटेनिसतर्फ पाँच, ब्याडमिन्टनतर्फ सात पुरुष र पाँच महिला गरी १२, एथलेटिक्सतर्फ नौ पुरुष र नौ महिला गरी १८, बुद्धिचालतर्फ तीन, कराँतेतर्फ २९, कबड्डीतर्फ दश पुरुष र दश महिला गरी २०, आइटिएम तेक्वान्दोतर्फ १४ पुरुष र ११ महिला गरी २५, तेक्वान्दोतर्फ छ पुरुष र छ महिला गरी १२, फूल कन्ट्याक्ट कराँतेतर्फ सात पुरुष र पाँच महिला गरी १२, उसुतर्फ छ पुरुष र छ महिलागरी १२ र बक्सिङतफ चार खेलाडी छनोट भएको खेलकुद विकास समितिले जनाएको छ।

जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन्।करिब चार दशकपछि गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने अवसर प्राप्त गरेको छ। विसं २०४० मा दोस्रो संस्करणको आयोजनापछि पोखरालाई नवौँ संस्करण आयोजनाको मौका मिलेको हो।

राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनसहित ३८ खेल सञ्चालन हुनेछन्। अधिकांश खेल पोखरामा र केही खेल पोखरा बाहिर गर्ने तयारी छ। प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गर्ने योजना बनाइएको छ।

प्रतिक्रिया दिनुहोस