समाजवादमा पुगेरमात्र शहीदको सपना पूरा हुन्छ : प्रचण्ड

सूर्यप्रकाश कँडेल

बुधबार, ३० जेठ २०७५, १३ : ५०
समाजवादमा पुगेरमात्र शहीदको सपना पूरा हुन्छ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको बाटो हिँड्दै समाजवादमा पुगेरमात्र शहीदहरुको सपना पूरा हुने बताउनु भएको छ । चितवनको मंगलपुरमा बुधबार शहीदद्वय शिवहरि तिमिल्सिना र रामकृष्ण तिमिल्सिनाको स्मृतिमा निर्मित प्रतिमा अनावरण कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
‘शहीदहरुको सपना पूरा गर्नको लागि नै एउटै बलियो कम्युनिष्ट पार्टी निर्माण गरेर अघि बढेका छौँ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘राजनीतिक स्थिरता, सामाजिक न्याय, विकास, सुशासन, समृद्धि र समाजवादको लागि पार्टी एकता गरेका हौँ । हामीसँग दुईतिहाई बहुमतको सरकार छ, यो पाँच वर्ष टिक्छ । निर्वाचनको बेला गरेको एउटा संकल्प पार्टी एकता पूरा गरेका छौँ । अब विकास र समृद्धिको बाटोमा अगाडि बढ्नु छ ।’ पार्टी एकताले देशभर नयाँ उत्साह थपेको र यो अन्तर्राष्ट्रिय स्तरमै खुशीको कुरा बनेको उहाँले बताउनु भयो ।


संसारभर कम्युनिष्ट पार्टीहरु रक्षात्मक अवस्थामा रहेको बेला नेपालमा दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता गरी दुईतिहाई बहुमतसहितको कम्युनिष्ट सरकार बनाउनु ठूलो कुरा भएको अध्यक्ष प्रचण्डले बताउनु भयो । ‘संसारभरीका न्यायप्रेमी जनताको लागि र समृद्धिका पक्षधर जनताको लागि यो खुसीको कुरा भएको छ’ उहाँले भन्नुभयो, ‘पार्टी एकता राष्ट्रको आवश्यकता थियो, जनताको आवश्यकता थियो, भयो । बहुमत ल्यायौँ । ६ वटा प्रदेश र केन्द्रमा हाम्रै पार्टीको सरकार छ । दुई नम्बर प्रदेशमा पनि हामी सबैभन्दा ठूलो पार्टी भएका छौँ । देशैभर हाम्रो प्रभाव छ ।’


निर्वाचनमा प्राप्त सफलता र पार्टी एकतालाई संसारले सम्मान र उत्साहका साथ हेरेको उहाँले बताउनु भयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘एक्काइसौँ शताब्दीमा सामाजिक क्रान्तिको नयाँ र मौलिक बाटोबाट समाजवादमा पुग्ने क्रममा हामी रहेका छौँ । समाजवादको आधार तयार गर्नको निम्ति विकास र समृद्धिको यात्रातर्फ अगाडि बढ्ने प्रतिज्ञा गरेका छौँ ।’ सरकारले अब विकास निर्माणका कामलाई गति दिने उहाँको भनाइ छ ।

स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए । उनीहरुकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस