आगामी निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ एमाले अघि बढ्छ : योगेश भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १५ : ३२
आगामी निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ एमाले अघि बढ्छ :  योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने संकल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताएका छन् । सचिव भट्टराईले चालू केन्द्रीय कमिटी बैठकले सो निर्वाचनमा बहुमत ल्याउने संकल्पसहितको सन्देश दिने दावी समेत गरे ।

उनले मुलुकको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा (एमाले) नेतृत्वको सरकारको खोजी भइरहेको भन्दै सोही आवश्यक्ता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रीय कमिटीमार्फत् चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पारे । सत्तारुढ गठबन्धन सरकारका कारण मुलुक संकटमा परेको आरोप लगाउँदै सचिव भट्टराईले त्यसबाट मुलुकलाई पार लगाउन आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको पटकपटक दोहो¥याए ।

उनले भनेका छन्, ‘आज यो गठबन्धनको कारणले मुलुक संकटमा छ । हाम्रो बैदेशिक सम्बन्धहरु बिग्री राख्या छ । अमेरिकासँग, भारतसँग, चीनसँग हाम्रो सम्बन्ध बिग्रेको छ । महाशक्ति राष्ट्रहरु चाँही नेपालको मामिलामा एकअर्काबीचमा भनाभन गरिराखेका छन् । नेपालले त्यसमा सन्तुलन गुमाइरहेको अवस्था देखिन्छ अहिलेको सरकारको कारणले । त्यसो भएको हुनाले विश्व समूदायसँग एउटा मैंत्रीपूर्ण सम्बन्ध राख्ने, पारस्परिक हितमा सम्बन्ध कायम गर्ने । नेपालको हितमा सम्बन्धहरु कायम गर्ने । त्यो असंलग्न परराष्ट्र नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने कुरा एउटा पक्ष भयो ।’

उनले फेरि भने, ‘अर्कोतिर नेपालको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको निम्ति एउटा बलियो राष्ट्रिय सामथ्र्य भएको शक्ति आवश्यक पर्छ । र, त्यो नेकपा एमाले हो । त्यसो हुनाले देश भित्रको आवश्यक्ताले नेकपा (एमाले)को नेतृत्व खोजी राखेको छ । अन्तराष्ट्रिय परिस्थितिमा पनि नेपाललाई एउटा सन्तुलित ढंगले उभ्याउन पनि नेकपा (एमाले)को नेतृत्व खोजिराखेको छ । यीनै कुराहरुका साथ हामी चुनावमा जान्छौं । र, बहुमत ल्याउने संकल्पका साथ एमाले जान्छ । र, यो केन्द्रीय कमिटी बैठकले त्यो सन्देश दिन्छ ।’

सचिव भट्टराईले आगामी निर्वाचनमा अन्तरघात नहुने गरी पार्टीको सिंगो पंक्तिलाई परिचालन गर्न पनि केन्द्रीय कमिटी बैठकले आवश्यक निर्देशन दिने बताए । उनले पार्टीको उम्मेदवार चयनमा स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरीहरुलाई पनि आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दोहोरिन नदिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस