आगामी निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता हुने

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १९ : ३४
आगामी निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता हुने

काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन् । कार्य दल र शीर्ष नेताहरुबीच मंगलबार बसेको बैठकले पनि सहमति जुटाउन नसकेपछि नेताहरु ‘वान टू वान वार्ता’ गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन् ।

सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढंगले टुंगो लगाउन शीर्ष नेताहरुबीच वान टू वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘हामी सहमतिको नजिक पुगेका छौं । आज चाँही हाम्रो कार्यदलको संयोजक सिटौलाजी अस्वस्थ हुनुभएको कारण पनि बैठक प्रभावित भयो । हामी चाँडै नै निष्कर्षमा पुग्नेछौं । जतिसक्दो चाँड टुंगो लगाउनुपर्नेछ । किनभने निर्वाचनको कार्यतालिका नै सार्वजनिक भइसकेको छ । यसको सहज निकासका लाग वान टु वान कुरा पनि हुन्छ ।’

कार्य दलका संयोजक समेत रहेका काँग्रेस नेता कृष्णप्रसाद सिटौला भने अस्वस्थ भएका कारण बैठकमा उपस्थिति हुन सकेनन् । त्यसले पनि सहमति जुटाउने कार्यलाई प्रभावित पारेको मन्त्री कार्कीको भनाइ थियो ।

गठबन्धन दलहरुबीच २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र २०७९ सालको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएर सिट बाँडफाँड गरेर जाने विषयमा छलफल केन्द्रित रहेको नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस