हरेक पार्टीमा पुराना नेताको अन्त्य कहिले होला भन्ने स्थिति देखापरेको छः अध्यक्ष तिमिल्सना

सफल खबर संवाददाता

मंगलबार, ०७ भदौ २०७९, १५ : ४८
हरेक पार्टीमा पुराना नेताको अन्त्य कहिले होला भन्ने स्थिति देखापरेको छः अध्यक्ष तिमिल्सना

काठमाडौँ  । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पष्ट नीति नहुँदा साना आयोजना पनि संघबाटै आइरहेको बताएका छन् । मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश-१ मा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजना संघीय सरकार मातहत हुँदा संघीय सरकारमा केही बजेट बढी हुने कुरालाई स्वभाविक रुपमा हेर्नुपर्ने बताए । उनले राष्ट्रियस्तर, प्रदेशस्तर र स्थानीयस्तरका आयोजनाको वर्गीकरण गरेर काम गर्न आवश्यक रहेको पनि बताए ।

उनले जनसंख्या, भूगोल र बजेटको आधारमा योजना छुट्याउन सकिने उल्लेख गर्दै दुई प्रदेशसँग जोडिने आयोजना, जनसंख्याको सीमा तोकेर समेट्ने आयोजना र बजेटको सीमा तोकेर तीनै तहका सरकारले काम गर्नुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले करोडभन्दा तलका योजना प्रदेशले स्थानीय सरकारलाई दिनुपर्ने व्यवस्था राख्नुपर्ने सुझाव दिए ।

अध्यक्ष तिमिल्सिनाले संविधानले मन्त्रालयको सीमा नतोकेको भए मन्त्रालयको संख्या हिसाव गर्न नसकिने अवस्थामा पुग्ने बताए । उनले संविधानले अधिकतम २५ वटा मन्त्रालय भनेकै कारण २५ वटा मन्त्रालयमा सीमित भएको तर संविधानले नतोकोको खण्डमा दलहरूको भागबण्डाले असीमित मन्त्रालय हुने बताए ।उनले २५ वटा मन्त्रालय संविधानले अधिकतम भनेको भन्दै सकेसम्म कम मन्त्रालय बनाएर कम आलोचना र टिप्पणी हुने कुरामा ध्यान दिन जरुरी रहेको बताए । अध्यक्ष तिमिल्सिनाले संघीयता आफैँ दोषी नभएको भन्दै कार्यान्वयनमा व्यवहारबाट दिने बेला आएको बताए ।

अध्यक्ष तिमिल्सिनाले दुर्गम ठाउँको विकासका लागि र निर्धाहरुको आवाज बनेर संघीयता आउनुपर्ने बताए । उनले देशलाई प्रगतिपथमा कसरी अघि बढाउने, भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा अब जनतासमक्ष सैद्धान्तिक नभई व्यवहारमा जोडिनुपर्ने बताए ।

उनले अबको निर्वाचनमा मन्त्री र सांसदका लागि मात्रै उम्मेदवारी दिने नभई के गर्ने हो भन्ने योजनासहित जनतामाझ जानुपर्ने र नागरिकले पनि विकास गर्नसक्ने नेतालाई जिताउनुपर्ने आवश्यक रहेको बताए । उनले अहिले अधिकांश पार्टीमा कहिले पुराना नेताको जीवन अन्त्य हुन्छ र पार्टीले टिकट देला भन्ने मनसायले प्रार्थना गरेर बस्नुपर्ने स्थित देखापरेको बताए ।  

'अब आउने चुनावमा म कनि उठ्ने र केका लागि उठ्ने भन्ने सोच्नुपर्छ । मन्त्रीका लागि र सांसद बन्नकै लागि सांसद बन्नु हुँदैन । चुनावमा किन र केका लागि उठ्ने भन्ने अठोट गरौँ । अहिले पार्टीका नेता, कार्यकर्ताहरू कहिले पुराना नेताहरूको जीवन अन्त्य हुन्छ र टिकट पाउँला भनेर प्रार्थना टिकट पाउनका लागि गरिरहेका छन् । अब दलहरूले क्षमता योग्यता हेरेर प्रतिनिधि अघि बढाउनु पर्छ,’ उनले भने ।

उनले देशलाई गरीबीबाट धनी बनाउने, अविकसितबाट विकसित बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस