मिटर ब्याजीलाई कारबाही हुन्छ :गृहमन्त्री खाँण

सफल खबर संवाददाता

सोमबार, ०६ भदौ २०७९, २० : ४२
मिटर ब्याजीलाई कारबाही हुन्छ :गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मिटर ब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताएका छन्।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाणले यस्तो बताएका हुन्। उनले मिटर ब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई  नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताए।

मन्त्री खाणले वर्तमान सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटर ब्याजीलाई कानुनी कारबाहीको दायराभित्र ल्याउने र मिटरब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको दाबी गरे। उनले मिटरब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नको लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको बताए।

मिटर ब्याजबाट ठगिएका आम जनतालाई उजुरी दिन आग्रहसमेत गरिएको बताए। उनले अहिलेसम्म विभिन्न प्रदेश र जिल्लामा गरी १९ सय ३७ वटा मिटर ब्याजबाट ठगीका उजुरी परेको बताए। मन्त्री खाणले प्रदेश १ मा ९२ वटा, मदेस प्रदेशमा १ हजार ३३०, बागमतीमा २०२, गण्डकीमा ३५, लुम्बीनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको बताए।

उनले भने,‘सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदा मिटर ब्याजीलाई कानूनी कारबाहीको दायराभित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति र कार्यक्रममा नै आएको छ। पछिल्लो पटक गृह मन्त्रालयले कार्यदल बनाएको छ। कार्यदलले मिटर ब्याजीबाट आम जनताले भोग्नुपरेको समस्या छ, त्यो जानकारी र उजुरी दिन समय तोकेका थियौँ। मिटर ब्याजीले जनतालाई ठगि गर्ने, उत्पीडन र शोषणमा म्याद चाहिँदैन। हामीले कार्यदलको समय थप गर्न सकिन्छ। कतिपय जिल्लामा मिटर ब्याजीहरु भेटिए तर कतिपय ठाउँमा उजुरीसमेत परेनन्।’

प्रतिक्रिया दिनुहोस