माओवादी केन्द्रको हुम्ला जिल्ला समन्वय समितिको पहिलो विस्तारित बैठक सुरु

सफल खबर संवाददाता

आइतबार, ०५ भदौ २०७९, २० : १३
माओवादी केन्द्रको हुम्ला जिल्ला समन्वय समितिको पहिलो विस्तारित बैठक सुरु

सिमकोट। नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको पहिलो विस्तारित बैठक सुरु भएको छ। गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको समेत समीक्षा गर्ने गरी बैठक सुरु भएको जिल्ला समन्वय समितिका संयोजक डा. दीपेन्द्र रोकायाले जानकारी दिए।

बैठकको पहिलो दिन सात वटै गाउँपालिकाका कमिटी र जिल्ला समन्वय समितिबाट प्रतिवेदन पेश गर्ने कार्य भएको उनले बताए। प्रतिवेदन गाउँपालिका इन्चार्जहरुले पेश गरेका हुन्।

आइतबार प्रस्तुत भएका प्रतिवेदनमाथि सोमबारको बैठकमा छलफल हुनेछ। प्रतिवेदनमा स्थानीय तहको निर्वाचनका बारेमा पनि उल्लेख गरिएको छ। विशेषगरी चंखेली गाउँपालिकामा गठबन्धन पराजित भएको र त्यसमा माओवादीका नेताकै कारण गठबन्धन अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारसँग पराजित भएकोबारे पनि छलफल हुने रोकायाले बताए।

पार्टीको जिल्ला समन्वय समिति १०५ सदस्यीय हुने विधानले व्यवस्था गरेको भए पनि हालसम्म त्यसले पूर्णता पाएको छैन। समितिमा सबै गाउँपालिका कमिटीका पदाधिकारी सदस्य रहने प्रावधान रहेको छ। बैठकले त्यसलाई पूर्णता दिनेछ। साथै हालसम्म सचिवालयसमेत गठन नभएकोले त्यसलाई समेत गठन गर्ने रोकायाले बताए।

बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनका लागि रणनीति पनि तयार गर्ने बुझिएको छ।बैठकमा सो पार्टीका प्रदेश अध्यक्ष विमला केसी र सचिव प्रदीप शाही, सहसचिव लालकेश जैसी, केन्द्रीय सदस्य विजय भण्डारी, छक्कबहादुर लामा, वैकल्पिक पोलिट ब्यूरो सदस्य रणसिंह दमाई, कर्णाली प्रदेशका पूर्वमन्त्री छिरिङ डम्डुल लामा, प्रदेश सदस्य, जनवर्गीय संगठनका प्रमुखलगायतको उपस्थिति थियो।