नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

सफल खबर संवाददाता

विहीबार, ०२ भदौ २०७९, १९ : ३०
नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पनि प्रतिनिधिसभाबाट पारित गरिएको छ ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित भएको हो ।

जस अनुसार प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० यति मत परेको थियो । सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र प्रस्तावको पक्षमा बहुमत रहेकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नीप्रसाद सापकोटाले घोषणा गरे।

यस अघि सो विधेयकबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक अव रोकेर राख्न सक्ने अवस्था नरहेको बताए । उनले प्रमुख प्रतिपक्ष दल एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयक अनुसार नै सो विधेयक आएकाले त्यसको विरोध गर्न नमिल्ने तर्क समेत गरे। गृहमन्त्री खाँणले सरकारले सो विधेयक संविधान अनुकूल हुने गरी ल्याएको दावी गरे।

प्रतिनिधिसभाको अर्को बैठक भदौ ५ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।