प्रदेश १ सरकारद्वारा ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत

सफल खबर संवाददाता

सोमबार, ३० साउन २०७९, १९ : ४९
प्रदेश १ सरकारद्वारा ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत

मोरङ । प्रदेश १ सरकारले विभिन्न ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकपछि सरकार प्रवक्ता यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले संगठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी कार्यविधि २०७९ सहित ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको जानकारी दिए।

बैठकपछि सरकारका प्रवक्ता घिमिरेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत संगठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी कार्यविधिले सरकारलाई कार्यबोझअनुसार कर्मचारी दरबन्दी मिलान तथा संगठन संरचनालाई उद्देश्यमूलक र परिणाममुखी बनाउन मार्गप्रशस्त हुने जानकारी दिए।

कार्यक्रममा बैठकले मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७९, निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि, २०७९’ ‘कर्मचारी प्रोत्साहन कार्यविधि, २०७९, समेत स्वीकृत गरेको छ।

बैठकले ‘कर्मचारी प्रोत्साहन कार्यविधि, २०७९’, सार्वजनिक खर्चको मापदण्ड र मितव्ययितासम्बन्धी निर्देशिका, २०७९’ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसैगरि, बैठकले घरेलु मदिरा ब्राण्डिङ गर्न ‘घरेलु मदिरा ब्राण्डिङ निर्देशक समिति तथा कार्यदेश’ पनि स्वीकृत गरेको छ।

सरकार प्रवक्ता घिमिरेका अनुसार बैठकले प्रदेशमा श्रम ऐन, २०७४ कार्यान्वयनका लागि सहजीकरण गर्न, श्रमिकका हकअधिकार सुनिश्चित गर्न तथा श्रमिक, रोजगारदाता र प्रदेश सरकारबीचको सम्बन्धलाई प्रभावकारी बनाउन ‘प्रदेश श्रम सल्लाहकार परिषद् गठनसम्बन्धी(पहिलो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ।

बैठकले प्रदेश मातहतका सरकारी अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकलाई बिरामीको सेवाका लागि थप उत्प्रेरणा प्रदान गर्न ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि, २०७९’ स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस