लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

बुधबार, २५ साउन २०७९, २० : ३६
लगानीकर्तालाई थप उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लगानीकर्तालाई थप उत्प्रेरित र आकर्षण गर्न सरकारको तर्फबाट गर्नुपर्ने सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।उनले मुलुकमा दिगो पूर्वाधार निर्माणको आवश्यकता परिपूर्ति गर्न लगानी बोर्डमार्फत भइरहेका कार्य र उपलब्धिको प्रशंसा गर्दै ठूला र राष्ट्रिय महत्वका परियोजनालाई द्रुत गतिमा अगाडि बढाउन निर्देशनसमेत दिएका छन् ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पेस गरेका आर्थिक वर्ष २०७८÷७९ को कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उनले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक तथा वित्तीय परिदृश्यहरू चुनौतीको रूपमा देखापरेको परिप्रेक्ष्यमा ठूला लगानी आकर्षण तथा परिचालन गर्न बोर्डबाट थप कार्य कुशलता प्रदर्शन गर्न निर्देशन दिए ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष देउवासमक्ष लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले आज गत आवको कार्यसम्पादन प्रतिवेदन पेस गरेका हुन् । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच २०७८ साल साउन ३२ गते आव २०७८÷७९ का लागि ४२ वटा क्रियाकलापमा समयसारिणीसहितको मापनयोग्य सूचकका आधारमा कार्यसम्पादन करार भएको थियो ।

लगानी बोर्डका चार प्रमुख रणनीतिक खम्बाहरू परियोजना विकास र व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास, समन्वय सहकार्य र साझेदारीमा केन्द्रित रही भएको करारबमोजिम सम्पादन गरिएका कार्यहरुको प्रगति विवरण समेटिएको उक्त प्रतिवेदनमा तोकिएअनुसारका सूचकहरू पूरा भई शतप्रतिशत कार्य सम्पन्न भएको बोर्डले जनाएको छ ।

उक्त आर्थिक वर्षमा रु एक खर्ब २२ अर्बभन्दा बढी लगानी स्वीकृत भएको व्यावसायिक योजनासहितको पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी लागू गरिएको लगानी बोर्डको परियोजना बैंकसम्बन्धी मार्गदर्शन तयार भएको छ । साथै परियोजनाको अनुगमनसम्बन्धी ड्यासबोर्डसमेत तयार भएको छ । त्यस्तै पश्चिम सेती तथा सेती नदी–६ संयुक्त जलविद्युत् परियोजनाको विकास ढाँचासम्बन्धी अध्ययन कार्य सम्पन्न भएको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनको म्याद थपसम्बन्धी अध्ययन कार्य सम्पन्न भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस