यसपल्ट पनि जनक शिक्षालाई नै मतपत्र छाप्न दिने आयोगको निर्णय

सफल खबर संवाददाता

मंगलबार, २४ साउन २०७९, १९ : १५
यसपल्ट पनि जनक शिक्षालाई नै मतपत्र छाप्न दिने आयोगको निर्णय

काठमाडौँ। पाँच वर्षअघि खरिद गरेको प्रिन्टिङ मेसिन थन्क्याएर निर्वाचन आयोगले आउँदो चुनावमा पनि मतपत्र जनक शिक्षा सामग्री केन्द्रमा छाप्ने भएको छ। मंसिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभाको चुनावका लागि आवश्यक पर्ने ८ करोड मतपत्रका लागि आयोगले यसपटक पनि पाँच वर्षअघि खरिद गरेको प्रिन्टिङ मेसिन प्रयोग नगर्ने भएको हो।

झण्डै २२ करोड रुपैयाँ खर्चेर किनेको प्रिन्टिङ मेसिन आफ्नै परिसरमा खिया लागेर बसिरहँदा आयुक्तहरुले त्यसलाई चलाउनु साटो चर्को मूल्य तिरेर फेरि पनि जनक शिक्षालाई नै मतपत्र छपाइका लागि आग्रह गरेको हो।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘मतपत्र छपाइका लागि निर्णय भएर जनक शिक्षा सामाग्रीलाई आग्रह गरिसकेका छौँ। जनक शिक्षालाई तयारी अवस्थामा रहन भनेका छौँ।’

निर्वाचन आयोगले २०७४ मंसिरमा १० करोड ५५ लाख ४० हजार खर्चेर किनेको हाई स्पिड डिजिटल कलर प्रिन्टर १ थान र ११ करोड २८ लाख मूल्यका २ थान छाड स्प्रिङ डिजिटल मोनोकोम समेत गरी २१ करोड ८३ लाख ४० हजारमा अत्याधुनिक छपाइ मेसिन खरिद गरेको थियो।

महालेखा परीक्षक र संसदको सार्वजनिक लेखा समितिले मेसिनको प्रयोगबारे पटक पटक प्रश्न उठाएर प्रयोग गर्न ताकेता दिए पनि आयोग पदाधिकारी भने मतपत्र छपाइका लागि जनक शिक्षातिरै ध्यान केन्द्रित गरेका छन्। आफ्नै मेसिनबाट छपाइ गर्दा कमिसन नपाइने हुँदा जनक शिक्षालाई जिम्मेवारी दिएको आयोग स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस