राष्ट्रिय परिचयपत्र भएकाले मात्रै चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षा दिन पाउने

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १६ : १९
राष्ट्रिय परिचयपत्र भएकाले मात्रै चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षा दिन पाउने

काठमाडौं । चिकित्सा शिक्षा आयोगले राष्ट्रिय परिचय पत्र भएकाले मात्रै एकीकृत परीक्षा दिन पाउने निर्णय गरेको छ । सोमबार आयोगले गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । आयोगले एकीकृत परीक्षाको विश्वसनीयता बढाउनका लागि यस्तो निर्णय गरेको हो । उसले यसका लागि राष्ट्रिय परिचय पत्रसँग आयोगको सफ्टवेयर आवद्ध गर्नका लागि कार्यदल बनाएर काम अगाडि बढाएको समेत जनाएको छ । ‘एकीकृत परीक्षाको विश्वसनीयता अझ बढाउन राष्ट्रिय परिचय पत्र पद्धतिसँग आयोगको सफ्टवेयर आवद्ध गर्न कार्यदलले काम गरिरहेको छ,’ आयोगले सार्वजनिक गरेको कार्यप्रगतिमा छ ।

यस्तै, आयोगले प्रत्येक वर्ष चिकित्सा शिक्षा शिक्षण गर्ने संस्थाहरुको स्थलगत अनुगमन र सिट निर्धारणलाई पनि आफ्नो कार्यप्रगतिमा उल्लेख गरेको छ । यस्तै, आयोगले चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जाने विभिन्न विधा र तहका १२५२ विद्यार्थीलाई अनुमति पत्र प्रदान गरेको छ । नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटीजले पाठ्यक्रम विकास गरी यसै वर्षदेखि ६ वटा अस्पतालमा १० जना विद्यार्थीहरु अध्ययनरत रहेको आयोगले जानकारी दिएको छ । डेढ दर्जन कार्यविधी विकास र सोअनुसार कार्य, दुई चरणमा स्नातक तह, स्नातकोत्तर तहको र एक चरणमा सोभन्दा माथिका एकीकृत प्रवेश परीक्षा पनि आयोगले यो अवधिमा सम्पन्न गरिसकेको जनाएको छ ।

आयोग गठनपछि भौतिक पूर्वाधारतर्फ एक वटा प्रिफ्याब भवन निर्माण, केशरमहल भवनको पुर्नसबलीकरण गरेर त्यसको तेस्रो तलामा सर्न शिक्षा मन्त्रालयबाट पत्र प्राप्त भएको पनि आयोगले जनाएको छ । आयोग गठन भएपछि चिकित्सा शिक्षा नीति, जनशक्ति प्रक्षेपण, चिकित्सा शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुपलगायतका कार्य भएका छन् । यस्तै, महत्वपूर्ण मुद्धा तथा समस्याको सम्बोधन गर्न प्रमाणमा आधारित निर्णय प्रक्रिया अवलम्बन गर्न एक दर्जन जति समिति र कार्यदल गठन भएर प्रतिवेदन समेत प्राप्त भएको र हुने क्रममा रहेको आयोगले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस