म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानी गाउँका ७९ वर्षीय बलबहादुर छन्त्यालको दिन हिजो आज गाउँमा उक्लिएका जीप, ट्याक्टर र मोटरसाइकल गन्ती गर्दै र चोयाँका सामग्री बुन्दै बित्ने गर्छ ।
जीवनको उत्तरार्धमा आएर बल्ल अलिअलि सुखको महसुस गर्न पाएका उनको बाल्यकाल, युवावस्था र प्रौढावस्था अनेकौँ दुःख संघर्ष गर्दै बित्यो । अहिले छोरा नातिको मुहारमा खुसी देख्दा आफू पनि खुसी हुनाको अर्को कुनै विकल्प उनीसँग छैन । पिडौला फर्किने गरी उकालीओराली गर्दै जवानी बित्यो । भौतिक सुख र प्रविधिको उपयोग उनका लागि सपना बन्यो तर आजभोलि छन्त्याल असाध्यै खुसी छन् । उनी यसरी खुसी हुनुको कारण हो घर घेउमै दैनिकजसो गुड्ने दर्जनौं मोटर गाडीहरु ।
मुलुक संघीय संरचनामा गएपछि पछिल्लो समय ग्रामीण बस्तीमा पनि विकासले गति लियो । विकासले गर्दा सुविधा पाउन र देख्न थालेपछि उमेरले डाँडो काटेका अन्य ज्येष्ठ नागरिकको मुहारमा पनि खुसी छचल्किएको छ । आफूहरुले बटौलीबाट डोकोमा नुन बोकेर १५ दिनपछि पैदल गाउँमा फर्किदाको दुःख सुनाउँदै छन्त्याल छोरा नातिका दुःखका दिन विस्तारै हट्दै गएकामा खुसी व्यक्त गर्छन् । गाउँगाउँमा सडक सञ्जाल नपुग्दा घण्टौँको यात्रा गरेर दैनिक उपभोग्य सामान ल्याएको अनुभव सुनाउँदै २० वर्ष अगाडिसम्म बुटवल, सुनवललगायत सहरबाट नुन बोकेर उपभोग गर्ने गरेको उनको भनाइ छ ।
“आजभन्दा १५/२० वर्ष अगाडि अहिलेको जस्तो सुविस्ता थिएन, खसौली, बटौली र सुनौली पुगेर नुन बोकेर जीवन निर्वाह गरेका थियौँ, अहिले त गाउँ–गाउँमा दोकान छन्, जे चाहिए पनि तुरुन्तै किन्न पाइन्छ”, छन्त्यालले भने, “उतिबेला नुन र चामल ल्याउन १५/२० दिन लाग्थ्यो, जुत्ता चप्पल भन्ने चिज त हाम्रा पालामा पाइँदैनथ्यो ।” विगत १५/२० वर्षयता गाउँमा आफूले नसोचेको विकास भएकोमा छन्त्याल मात्रै होइन उनकै उमेरका धेरै ज्येष्ठ नागरिकहरु पनि दङ्ग परेका छन् ।
बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले अहिलेको पुस्ता भाग्यमानी भएको बताउछन् । “हामीले गरेको दुःख अहिलेको युवा र केटाकेटीलाई सुनाउँदा पत्याउँदैनन् । त्यतिबेलाको तुलनामा अहिले त आनन्दै आनन्द छ”, उनी भन्छन् । उपाध्याय सुनवल, बुटवल, तानसेन, नाउडाँडा, कुश्मा, बागलुङ र बेनी हुँदै खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरु बोकेर घरमा ल्याए पछि मात्र खान पाइने विगतको स्मरण सुनाउँछन् ।
“गाउँमा नुन, चामल हुँदैनथ्यो, सबै बजारबाट किनेर ल्याउनुपर्थ्यो, बजार नजिक थिएन, १०÷१२ दिन लगाएर खसौली वा बटौली जानुपर्थ्यो, त्यसपछि मालढुङ्गासम्म गाडी आउन थाले हामीलाई पनि सहज हुन थाल्यो”, उपाध्यायले भने, “अहिले गाउँ–गाउँमा मोटर पुगे, मोटर पुगेपछि सबैथोक गाउँमा आउन थाले ।” त्यसैगरी मङ्गला गाउँपालिका–४ का ७६ वर्षीय कृष्णहरि कँडेलले पनि आफ्नो जीवनकालमा गाउँमा मोटरगाडी गुड्लान् भन्ने कल्पना नगरेकामा अहिले गाउँमा गाडी गुड्दा खुसी लागेको छ भन्छन् । गाउँमा मोटरबाटो पुगेपछि बलबहादुर, बेदप्रसाद र कृष्णहरिजस्ता सयौँ बुढापाका र स्थानीय बासिन्दा खुसी भएका छन् । सडकले उनीहरूले भोगेका पुराना दुःख भुलाएको छ ।
जीवनको करिब ५०औँ वर्षभन्दा बढी टाढाबाट दैनिक उपभोग्य सामान ल्याएर दैनिक गुजारा चलाएकी रघुगङ्गा गाउँपालिकाको दग्नामकी ७३ वर्षीया स्वरुपा गर्बुजा अहिले घर नजिकैबाट आवश्यक सामान किन्न पाउँदा दङ्ग छिन् । मुस्ताङको थाकखोलाबाट नुन ल्याएर उपभोग गरेकी स्वरुपाले अहिले नुन मात्रै होइन दैनिक जीविकाका लागि चाहिने सामान घरै नजिक किन्न पाउँछिन् । “यस्ता दिन पनि आउँदा रैछन्, कुनै बेला नुनकै लागि १५/२० दिन हिँडेर मुस्ताङ पुग्नुपर्थ्यो, अहिले नुन, सुन जे भने पनि गाउँमै पाइन्छ । गाउँमा विकास होला, यस्तो सुविधा यहीँ पाइएला भन्ने त हामीले सोचेका पनि थिएनौँ”, स्वरुपा भन्छिन्, “विकास भनेको कस्तो हुँदोरहेछ बल्ल अहिले अनुभव गर्न पाएका छौँ ।”
मोटरगाडी ठूला–ठूला सहरमा पुगेपछि मात्रै देखेको अनुभव सुनाउँदै अहिले गाउँका हरेक बस्तीमा गाडी पुगेको उनी बताउछिन् । गाउँमा कोही बिरामी हुँदा डोकोमा बोकेर अस्पतालसम्म पु¥याउने गर्दै आएका थियौँ । अहिले सडक सुविधाले गर्दा गाडीमार्फत बिरामीलाई अस्पताल लैजान पाइन्छ । “पहिले त गाडी भन्ने सुनेका मात्रै थियौँ, गाउँमा कोही बिरामी पर्दा डोकोमा, डोलामा बोकेर अस्पतालसम्म लैजाने गथ्यौँ, समयमा अस्पताल नपुग्दा कतिको बाटैमा मृत्युसमेत भयो,” स्वरुपाले भनिन्, “अहिले त अस्पताल पनि नजिकै छ, कोही बिरामी प¥र्यो भने तुरुन्तै गाडीमा लैजान सकिन्छ ।”
हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय सडक निर्माणले तीब्रता पाएको छ । एक नगरपालिकासहित छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाहेक अन्य ४४ वडामा सडक सुविधा पुगेको छ । सडक डिभिजन कार्यालयका अनुसार म्याग्दीमा ११ मुख्य सडक र ४२ वडा सहायक तथा कृषि सडक छन् । वडा र पालिकाले स्थानीयवासीको आवश्यकताअनुसार निर्माण गरिएका सडकको सङ्ख्या भने समेटिएको छैन । सडकको पहुँचसँगै स्थानीय उत्पादनले बजारीकरणको अवसर पनि पाएको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताए । स्थानीयवासीलाई आवतजावत गर्न मात्रै होइन गाउँको समृद्धि र स्वास्थ्योपचारका दृष्टिले पनि सडक सुविधा वरदान सावित भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २३ साउन २०७९, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण