प्रशिक्षक ग्वार्डिओलाले भने - हालान्डमा गोलको भोक मेस्सीको जस्तै छ

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १३ : ५६
प्रशिक्षक ग्वार्डिओलाले भने - हालान्डमा गोलको भोक मेस्सीको जस्तै छ

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले एर्लिङ हालान्डमा गोलको भोक स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार लियोनल मेस्सीको जस्तै भएको बताएका छन् ।यसै सिजन जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सिटीमा अनुबन्ध भएका हालान्डले प्रिमियर लिगको आफ्नो पहिलो खेलमा क्लबले वेस्ट ह्यामविरुद्ध २–० को जित निकाल्दा दुवै गोल हालान्डले गरेका थिए ।
हालान्डको प्रदर्शनबाट खुसी देखिएका ग्वार्डिओलाले उनको गोलप्रतिको भोकले आफूलाई मेस्सीसँगको सहकार्य स्मरण गराएको बताए ।

‘प्रशिक्षकका रुपमा मेस्सीसँग काम गर्न पाउनु भाग्यको कुरा थियो । उनले दुई गोल गर्दा, तीन गोल गर्न चाहन्थे, तीन गोल गर्दा, चार गोलका लागि मौका खोज्थे,’ग्वार्डिओलाले भने,‘उत्कृष्ट गोलकर्ता कहिल्यै गोल गर्नबाट सन्तुष्ट हुँदैनन् । उनीहरु सँधै गोलको भोका हुन्छन् र थप गोल गर्न चाहन्छन् ।’

पहिलो खेलमा दुई गोल गरे पनि हालान्डले भने आफू सन्तुष्ट नरहेको प्रतिकृया दिए । सन् २०२० मा बोरुसिया डर्टमन्डबाट‘डेब्यु’खेलमै ह्याट्रिक गरेका उनले सिटीमा पनि सोही कुरा दोहोर्याउन चाहे पनि सफल नभएको बताए । 

प्रतिक्रिया दिनुहोस