चोरिएको साढे १० लाख बराबरको सुनचाँदीको गहना बरामद, एक युवा पक्राउ

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, ११ : १८
चोरिएको साढे १० लाख बराबरको सुनचाँदीको गहना बरामद, एक युवा पक्राउ

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरास्थित औलिया ज्वलर्सबाट चोरिएका  झन्डै साढे १० लाख रुपैयाँ बराबरका सुनचाँदीका गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

स्थानीय लक्ष्मण विकको पसलबाट चोरिएका सुनचाँदीका गहनासहित प्रहरीले चतराकै २६ वर्षीय अनिल बराइलीलाई पक्राउ गरेका हो । शुक्रबार राति १ तलाको पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडि काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय ९चतरा० र इलाका प्रहरी कार्यालय (महेन्द्रनगर) बाट प्रहरी टोली खटिएको थियो। 

घटना अनुसन्धानका क्रममा शुक्रबार राति साढे २ बजे शंका लागेर स्थानीय अनिल बराइलीको घरभित्र खानतलासी गर्दा प्रहरीले चोरिएका सुनचाँदीका गहना बरामद गरेको हो। 

बराइलीले दराजपछाडि कालो झोलामा लुकाएर राखेको अवस्थामा चोरीका सुनका गहना ६ तोला ८३ लाल र चाँदीको गरगहना २९७ तोला बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गहनाको मूल्य १० लाख ४० हजार ५९० रुपैयाँ अनुमान गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस