अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किए प्रधान सेनापति शर्मा

सफल खबर संवाददाता

शनिबार, २१ साउन २०७९, १० : ५२
अस्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किए प्रधान सेनापति शर्मा

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा अस्ट्रेलिया भ्रमण पूरा गरि स्वदेश फर्किएका छन्। अस्ट्रेलियाको सिड्नीमा भएको रक्षा प्रमुखहरुको वार्षिक सम्मेलनमा सहभागी भएर शर्मा शनिबार स्वदेश फर्किएका हुन्। 

उक्त सम्मेलनमा सहभागी हुन शर्मा गत शनिबार (साउन ७ गते) अस्ट्रेलिया प्रस्थान गरेका थिए। प्रधान सेनापति शर्मा अस्ट्रेलियाको रक्षा बलको संयोजकत्वमा अमेरिकी सेनाको इन्डोप्यासिफिक कमाण्डले आयोजना गरेको रक्षा प्रमुखहरुको सम्मेलनमा सहभागी भएका थिए। उक्त सम्मेलनमा सहभागिताका लागि मन्त्रिपरिषद्‌को असार ३१ गतेको बैठकले प्रधान सेनापतिको भ्रमण स्वीकृत गरेको थियो।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका राष्ट्रका सेना प्रमुखहरुले वर्तमान अन्तर्राष्ट्रिय सुरक्षा र सहयोगका बारेमा छलफल भएको नेपाली सेनाको  जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

उक्त सम्मेलन साउन ९ गतेदेखि ११ गतेसम्म चलेको थियो। सम्मेलन सकिएपछि पनि प्रधान सेनापति शर्मा भने घर बिदा स्वीकृत गराएर साउन २० गतेसम्म त्यहाँ रहेका थिए। सम्मेलनका क्रममा शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका विषयहरुमा भाएका छलफल तथा अन्तर्क्रियामा सहभागी भएका नेपाली सेनाले जानकारी दिएको छ। 

शर्माको भ्रमणलाई लिएर नेपालमा भने सांसदहरुले विरोध जनाएका थिए। साउन १० गतेको प्रतिनिध सभाको बैठकको शुन्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद्‌हरुले अमेरिकाको  इन्डोप्यासिफिक स्ट्राटेजी ९आईपीएस०सँग जोडिएको कार्यक्रममा प्रधान सेनापति शर्मा सहभागी हुनु उचित नभएको बताएका थिए। 

प्रतिक्रिया दिनुहोस