ताइवान आसपास आक्रमणपछि ह्वाइट हाउसले बोलायो चिनियाँ राजदूत

एजेन्सी

शुक्रबार, २० साउन २०७९, १६ : ५२
ताइवान आसपास आक्रमणपछि ह्वाइट हाउसले बोलायो चिनियाँ राजदूत

एजेन्सी । ह्वाइट हाउसले अमेरिकाका लागि चिनियाँ राजदूत किन ग्याङलाई कार्यालयमा बोलाएको छ । बिहीबार चीनका राजदूतलाई बोलाएर ह्वाइट हाउसले ताइवानविरुद्ध बेइजिङको बढ्दो कारबाहीको निन्दा गरेको वासिङ्टन पोस्टले जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले त्यस क्षेत्रमा संकट नचाहेको बताए ।

‘रातभर चीनको कारबाहीपछि, हामीले चीनका राजदूत किन ग्याङलाई ह्वाइट हाउस बोलाएर उत्तेजक कारबाहीबारे जानकारी लियौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले उक्त गैरजिम्मेवार कारबाहीको निन्दा गरेका छौं र ताइवान आसपासका क्षेत्रमा शान्ति र स्थिरता कायम राख्नु अमेरिकाको दीर्घकालीन लक्ष्यविरीतका कारबाही रोक्न भनेका छौं ।’

बिहीबार ताइवानविरुद्ध चीनले समुद्रमा मिसाइल प्रहार र सीमा क्षेत्रमा शक्ति प्रदर्शन गरेको थियो । चीनले उत्तरपूर्वी र दक्षिणपश्चिमी तटबाट पानीमा ११ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको ताइवानले पुष्टि गरेको छ । तीमध्ये पाँच मिसाइल जापानको विशेष आर्थिक क्षेत्रमा खसेको जापानी अधिकारीहरूले जनाएका छन् ।

राजदूत किनलाई ह्वाइट हाउसले अमेरिकाले सञ्चारका सबै प्रवाहलाई खुला राख्न चाहेको र एक चीन नीतिको बारेमा आफ्नो धारणा नबदलिएको जानकारी गराएको छ ।साथै उसले बेइजिङको कार्य अस्वीकार्य भएको बताउँदै हिन्द–प्रशान्त क्षेत्रमा आफ्नो रक्षाको लागि तयार रहेको पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस