चुनावको मिति घोषणा लगत्तै आधा दर्जन सचिवको जिम्मेवारी हेरफेर

सफल खबर संवाददाता

शुक्रबार, २० साउन २०७९, ०७ : ५१
चुनावको मिति घोषणा लगत्तै आधा दर्जन सचिवको जिम्मेवारी हेरफेर

काठमाडौं । सरकारले चुनाव घोषणासँगै आधा दर्जन सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो।

यद्यपि, सचिवहरूको सरुवा टुंगो शुक्रबार मात्र लाग्ने भएको छ। हेरफेर भएका सचिवको जिम्मेवारी अझै मिलाउनुपर्ने भएकाले बिहीबार सचिव सरुवा निर्णय सार्वजनिक नगरिएको एक मन्त्रीले बताए। उनले भने, ‘हेरफेर भएका सचिवको जिम्मेवारी अझै पनि यताउता हुन सक्छ। त्यसैले बिहीबार निर्णय सार्वजनिक नगरिएको हो।’

अर्थ मन्त्रालयमा माओवादी नेता जनार्दन शर्मालाई पठाइएपछि असन्तुष्ट बनेका अर्थसचिव मधु मरासिनी प्रधानमन्त्री कार्यालय तानिएका छन्। शर्मा फेरि सोही मन्त्रालय फर्कने भएपछि काज बिदा मिलाएर मरासिनी गत आइतबार पोखरातिर गएका थिए। उनी फेरि सोही मन्त्रालय फर्कने पक्षमा थिएनन्।

अर्थका अनुसार उनले एक साताको बिदा लिएका थिए। मरासिनीनिकट स्रोतका अनुसार उनकै चाहनामा मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा लगिएको हो। आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणका क्रममा मन्त्रालयबाहिरका अनधिकृत व्यक्तिको प्रभावमा परी करको दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागेको थियो।

त्यससँगै सिसिटिभी फुटेज हटाइयो भन्ने आरोप लागेपछि मरासिनीले असजिलो महसुस गरेको दाबी गर्दै अर्थका एक सहचिवले भने, ‘बजेट निर्माण र सिसिक्यामेराको फुटेजका विषयमा विवाद भएपछि उहाँ तनावमा देखिनुहुन्थ्यो। त्यसैले पनि पुनः शर्मासँग काम गर्ने पक्षमा देखिनुहुन्नथ्यो।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस